प्रधानमन्त्री बालेन शाह र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ।
प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजिल्याण्डले उपलब्ध गराएको २० लाख न्युजिल्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री लक्सनले नेपालले भोग्नुपरेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।