एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्याकाण्डमा ६ जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले ६ जनालाई चेतनदीपको हत्या गरेकोमा जन्मकैद सजाय सुनाएको हो।
चार वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका मुख्य अभियुक्तहरू धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीले अब २५ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको हो।
अदालतले ६ जनाबाट जनही एक लाख रूपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला पनि गरेको छ।
उनीहरूलाई आजीवन कारावासको सजाय माग भएको थियो। तर अदालतले जन्मकैदको सजाय मात्रै तोकेको हो।
पुर्पक्षका लागि कारागारमै रहेका पदम अयडीसहित १८ जनाले सफाइ पाएका छन्।
पदम अयडी, विनोदबहादुर अयडी, रूपा चौधरी अयडी, नरेश अयडी, चक्रबहादुर अयडी, भुपाल अयडी, मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नर अयडी, उद्धवबहादुर अयडी, रत्नबहादुर अयडी, जुद्धबहादुर अयडी, अनिता रौले अयडी, रनसिंहबहादुर अयडी, मोहनबहादुर अयडी, नविन अयडी, इश्वरादेवी अयडी र धनादेवी अयडीले सफाइ पाएका हुन्।
न्यायाधीश डाँगीको इजलासमा बुधबार र बिहीबार लगातार दुई दिन बहस भएपछि फैसला आएको हो।
जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए।
अभियुक्तहरूका तर्फबाट जगत बम लगायतले बहस गरेका थिए।
यस मुद्दामा २४ जना प्रतिवादी बनाइएका थिए। यीमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको थियो। ११ जना विभिन्न तहका अदालतबाट धरौटी तारिखमा छुटेका थिए। ६ जना साधारण तारिखमा थिए।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौंमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीलाई ठूलो समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।
धनराज थापा यस घटनाका मुख्य व्यक्ति हुन्। उनी घटनास्थलमा प्रत्यक्ष उपस्थित थिए। उनले चेतनदीप अयडीको घरको ढोका फोडेर उनलाई बाहिर निकाल्ने र काठबाट बनेको चिर्पटले प्रहार गर्ने भूमिका खेलेका थिए।
उनीसँगै अन्य ५ जनाले पनि अन्धाधुन्धा चिर्पट, लाठी, हात मुक्का प्रहार गरी चेतनदीपको हत्या गरेको देखिएको अदालतले बताएको छ।