नेपाल पुलिस स्कूल शान्तिपुर, चितवनका विद्यार्थीहरूले भरतपुर महानगरपालिकाका सम्भावित दुर्घटना जोखिमयुक्त चोकहरूमा रातको समयमा समेत टल्कने स्टिकरसहितका ड्रम राख्न थालेका छन्।
विद्यालयमा सडक दुर्घटना, सवारी नियम तथा ट्राफिक प्रहरीको जिम्मेवारीलगायत विषयमा जानकारी पाएपछि विद्यार्थीहरूले भरतपुरका विभिन्न चोकमा ४० वटा स्टिकर टाँसिएका ड्रम राखेका हुन्।
दुर्घटना जोखिमयुक्त चोकमा सवारी आगमनलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले राखिएका ड्रमहरू विद्यार्थीहरूले एक कार्यक्रमबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरणसमेत गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल, चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिल थापा, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा भरतपुर महानगरपालिकाका बुद्धचोक, गीतानगर, चोकबजार, शिवनगर, चनौलीलगायत क्षेत्रमा ड्रम राखिएको हो।
विद्यालयले आफ्नो सीएसआरअन्तर्गतको रकमबाट उपलब्ध गराएको सचेतनामूलक स्टिकरसहितका ड्रम विद्यार्थीहरूले स्कुल आसपासका चोकका साथै दुर्घटना जोखिम रहेका भरतपुरका विभिन्न चोकमा राखेको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
‘नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले नियमित पठनपाठनका साथै विद्यार्थीहरूलाई सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताको विषयमा विशेष प्रशिक्षण गर्दै आइरहेकोले सडक सुरक्षा, मानवीय सहायता एवं सहयोगी भावनाको विकास भएको छ,’ समादेशक थापाले भने।
विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकलाई दुर्घटना न्यूनीकरण, विपदीय जोखिम न्यूनीकरण, कानुनी एवं सुरक्षा सचेतना तथा सामाजिक व्यवहार र आचरणका सम्बन्धमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कक्षा १ देखि १० सम्म पठनपाठन भइरहेको प्रहरी स्कूल चितवनका विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च कटाएर करिब एक लाख रुपैयाँ भोटेकोसी बाढी प्रभावितलाई समेत सहयोग गरेका थिए।