भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४५१ पुगेको छ।
आइतबार बेलुकी ७ बजेसम्मको विवरणअनुसार १४१० जनाको शव भेटिएको हो।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा ३६७, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २३६, रसुवामा २०३, गोर्खामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको हो।
काठमाडौंमा उपचार क्रममा २ जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ।
अहिलेसम्म ११० जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ।
बाँकी शवहरूको डिएनए परीक्षण भइरहेका छन्। प्राधिकरणका अनुसार हालसम्म १२८६ वटा शवको डिएनए परीक्षण भएका छन् भने बेपत्ता भएकाहरूको परिवारका १९९७ जनाको डिएनए नमुना संकलन गरिएको छ।
बाढीमा परी ५ हजार ७८६ जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
६४६ विदेशी नागरिक, रसुवामा १६७७ स्थानीय र जिल्लाबाहिरका १८४६ जना, नुवाकोटमा ६५७ स्थानीय र १०९० जना जिल्लाबाहिरका मानिसहरू बेपत्ता छन्।
भदौ १० देखि आइतबारसम्म १३ हजार ७८४ जनाको उद्धार भएको र तीमध्ये १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।