प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नागरिक सँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिन निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक-२०८३ लाई सम्बोधन गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिक बीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताएका हुन्।
उनले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिम आधारित प्रहरी परिचालन गर्ने तथा प्रमाणमुखी एवं प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
विगतका घटना तथा अनुभवको पुनरावलोकन गर्दै सूचना संकलन र विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना बनाई सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो।
आइजिपी कार्कीले योग्यता तथा कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्न निर्देशन दिए।
समीक्षा बैठकमा उठेका विषयलाई छलफलमा मात्र सीमित नराखी उपलब्धिलाई संस्थागत गर्न तथा कमीकमजोरी सुधार गर्दै केन्द्र र प्रदेशबीच कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने उनको भनाइ थियो।
बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, सुरक्षा चुनौतीको सामना र विपद व्यवस्थापन लगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान भएको थियो।