लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ।
वर्षापछि नारायणी नदीको जलसतह बढ्दा सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित थारू टोलबाट पसेको बाढीले थारू टोलसँगै सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायतका सुस्ताका अधिकांश बस्ती डुबानमा परेका छन्।
बाढीका कारण सुस्ताका २५० घर डुबानमा परेपछि त्यहाँका अग्लो स्थानमा बनेका छिमेकीहरूका घर र सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा आश्रय लिएर बसेको स्थानीय मुन्सीकुमार हरिजनले जानकारी दिए।
नारायणीमा पानीको सतह बढ्ने क्रममा रहेकोले थप डुबान हुन सक्ने जोखिम रहेको छ।
शुक्रबार बिहान ९२ हजार क्युसेक रहेको गण्डक ब्यारेजको पानीको बहाब शनिबार गण्डक बराजको पानीको बहाब प्रति सेकेन्ड २ लाख ८० हजार क्युसेक पुगेको छ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार जोखिमपूर्ण क्षेत्रका १६३ जनालाई सुरक्षित स्थानमा सारिएको छ।