चार दिनदेखि जलगातार परेको वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरोले घर पुरिएका छन्।
पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका वडा नम्बर २ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले वडा नं. ६ का ठिमुरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको बताए।
रुप्से रजौलीका चिदीको पनि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै माथागढी गाउँपलिका वडा नम्बर १ चिदीपानीको जनेवाखोला स्थित रेलबहादुर दमाइ र गोविन्दबहादुर सुनारीको गोठ पहिरोले पुरिएको छ। घरसमेत उच्च जोखिममा रहेको छ भने पशुचौपायाहरू पहिरोमा पुरिएका छन्।
पूर्ण अपाङ्गता भएका गोविन्दबहादुर सुनारीसहित प्रभावित परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली जाँदै गरेको वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिए।
यस्तै माथागढी गाउँपालिका वडा नं ३ कसेनी भैसीकट्टामा आइतबार विहान झरेको पहिरोले लिल बहादुर घर्तिमगरको घर पूर्ण रुपमा पुरिएको छ।
घरमा सुतिरहेका स्वय ७५ वर्षीय लिल बहादुर घर्ती, १५ बर्षिया झरना घर्ती र १७ बर्षिया दिना घर्ती वेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता भएकी झरना छिमेकी मोतीलाल घर्तीको छोरी हुन्।