मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले सदरमुकाम चामेमा थुनिएको मर्स्याङ्दी नदी बम विष्फोट गरेर खोल्ने तयारी भइरहेको बताएका छन्।
यसका लागि नेपाली सेनासँग कुराकानी भइरहेको उनले बताए। ‘मर्स्याङ्दी नदी थुनिएर बनेको ताल खोल्न ब्लाष्ट गर्ने कुरा भइराखेको छ,’ उनले भने।
खराब मौसमका कारण थोराङ पास पदयात्रामा गएका पर्यटकहरू पनि धमाधम फर्किरहेको र चामेमा मर्स्याङ्दी थुनिएर ताल परेकाले तल झर्न सक्ने अवस्था नरहेको उनले बताए।
नदी थुनिएर ताल पर्दा चामेबाट उपल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदी माथिको पुल, केही होटल र घरहरू पानीमा डुबेको उनको भनाइ छ।
‘मर्स्याङ्दी थुनिएकाले पुल पनि डुबेको छ, ८/१० वटा घरहरू आधा डुबेका छन्,’ उनले भने, ‘थोराङला गएका पर्यटक फर्केका छन्, तर पुल तरेर चामे आउन सक्ने अवस्था छैन,’ उनले भने।
चामे आएर मर्स्याङ्दीमा मिसिने ठाडो खोलामा आएको पहिरो र बाढीले आइतबार दिउँसो नदी थुनिएको थियो। त्यसपछि राति निरन्तर पहिरो झरेको थियो। खोलामा बाढी आएपछि चामेका स्थानीयवासी शनिबार रातिदेखि नै घर छाडेर हिँडेका थिए। उनीहरूले शनिबार राति जंगलमा बसेर रात काटेका थिए ।
आइतबार राति भने १५० जना स्थानीय नेपाली सेनाको ब्यारेकभित्र रहेको फुटबल मैदानमा टेन्ट टाँगेर बसेका थिए। बाँकी स्थानीय भने ओडार र जंगलमा बसेको चामेका स्थानीय छोडेन लामाले जानकारी दिइन्।
बाढीले चामेका घरहरू क्षतिग्रस्त गरेका कारण घरमा बस्न सक्ने अवस्था भने नभएको उनले बताइन्।
‘हामीले १५० जना आर्मीको फुटबल मैदानमा बसेर रात बितायौं, अरू बाँकी जंगलतिर बस्नुभयो। बाढीले घर क्षतिग्रस्त गरेकाले बस्न मिल्ने अवस्था छैन,’ उनले भनिन्।