मनाङको हिमलुङ हिमाल आरोहणमा गएका थप दुई जनाको शव भेटिएको छ।
सोमबार विहान खोजी तथा उद्धारमा गएको हेलिकप्टरले थप दुई जनाको शव लिएर आएको मनाङका सिडिओ मुक्तिप्रसाद खनालले जानकारी दिए।
‘हिमलुङमा आज दुई जनाको शव भेटियो। हेलिकप्टरबाट ल्याएर प्रहरीले मुचुल्का बनाउँदैछ,’ उनले भने, ‘शव आजै काठमाडौं पठाउँछौं ।’
सोमबार बिहान भेटिएका आरोहण दलका सदस्यहरुको भने सनाखत हुन सकेको छैन। यसअघि आइतबार पनि दुई जनाको शव भेटिएको थियो।
सोमबार भेटिएको शव संखुवासभाका छिवी भोटे र पासाङ भोटेको रहेको प्रहरीले जनाएको छ।
हिमलुङ हिमाल आरोहणमा गएका करिब दुई दर्जन आरोहीहरु हिमपहिरोमा परेका थिए।
जसमध्ये ११ जना मनाङको नार फु गाउँमा पुगेको मनाङका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विनोद बरालले जानकारी दिए । अझै १४ जना हराइरहेको र उनीरुको हेलिकप्टरमार्फत खोजी भइरहेको उनले जानकारी दिए ।
मनाङको नारर्पाभूमि गाउँपालिकामा रहेको ७१२६ मिटर अग्लो हिमाल अरोहण गर्न हिमालयन होलिडेज पर इमाजिन नेपाल एक्सपेडिसन कम्पनीका २ दर्जन आरोही हिमलुङ गएका थिए । हिमपहिरोका कारण आइतबारदेखि उनीहरु सम्पर्कमा रहेका थिएनन्।