जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले दोहोरो नाम र मृत्यु भइसकेका ३ हजार ५ सय ३६ जना व्यक्तिहरूको नाम हटाएर मतदाता नामावलीबाट लगत कट्टा गरेको छ।
लगत कट्टा गरिएकामध्ये जिल्लाभित्र दुई वटा पालिका वा दुई वटा वडामा दोहोरो नाम भएका र मृत्यु भएकाहरू छन्। जसमध्ये मृत्यु भएका २ हजार ७ सय ३४ र दोहोरो नाम भएका ८ सय २ जना रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका अनुसार लगत कट्टा गरेकामध्ये सबभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन्। बुटवलका ४ सय ६८ जना र सबभन्दा कम ओमसतिया गाउँपालिकाका ७८ जना छन्।
सम्बन्धित वडा कार्यालयको सिफारिसमा मृत्यु भएकाहरू र अभिलेखमा भिडाउँदा दोहोरो नाम देखिएका कार्यालय आफैले नामावलीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका सूचना अधिकारी कल्पना शर्माले बताइन्। अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ।
'वडा कार्यालयहरूले मृत्यु भएकाहरूको नाम हटाउन प्रमाणित गरेर नाम हटाउन सिफारिस गर्नु भएको छ। त्यसकै आधारमा हटाइएको छ भने राष्ट्रिय परिचय पत्र र नागरिकता नम्बर भिडाउँदा नाम र नम्बर तथा बुवाआमाको नाम थर एकै भएका मतदाताहरूको एक ठाउँबाट नाम हटाइएको छ,' शर्माले भनिन्।
सूचना अधिकारी शर्माका अनुसार दोहोरो नाम भएकामध्ये जुन पालिकाको वडाबाट पछिल्लो पटक फोटो सहितको मतदाता नामावली अद्यावधिक गरिएको छ त्यही मात्रै कायम रहने र सोभन्दा अघि रहेको नाम हटाउने गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार तिलोत्तमा नगरपालिकाबाट ४ सय ६ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट चार सय जना, सैनामैना नगरपालिकाबाट ३ सय ४१ जना सिद्धार्थनगर नगरपालिकाबाट २ सय ३७ जना देवदह नगरपालिकाबाट २ सय २१ जनाको नाम हटाएको छ।
त्यसैगरी कन्चन गाउँपालिकाबाट १ सय ७२ जना सम्मरीमाई गाउँपालिकाबाट १ सय ७९ जना कोटहीमाई गाउँपालिकाबाट १ सय ७० जना गैडहवा गाउँपालिकाबाट १सय ९८ जना मायादेवी गाउँपालिकाबाट १ सय ४३ जना रोहिणी गाउँपालिकाबाट १ सय ३६ जना मर्चवारी गाउँपालिकाबाट १ सय ४० जना सियारी गाउँपालिकाबाट १ सय ५९ जना र सुद्धोधन गाउँपालिकाबाट ८८ जना रहेका छन्।
यसरी हटाइएका नामहरू सार्वजनिक गरी सकिएको र कोही कसैको नाम हट्न गई मतदानबाट बञ्चित हुने अवस्था आए जिल्ला कार्यालयबाट पुन: सच्याउन वा अद्यावधिक गर्न सकिने जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख कल्पना अर्यालले बताइन्।
'कहिलेकाहीँ भुलवश नाम हटेको हुन सक्छ त्यस्तो अवस्थामा अहिले सच्याउन मिल्छ,' उनले भनिन्।
दोहोरो मतदाता नामावली र मृत्यु भएकाहरूको समेत नाम कायम रहँदा निर्वाचनमा धाँधली हुने गरेको तथा एउटै मतदाताले पटक पटक मतदान गर्ने गरेका कारण निर्वाचनको निष्पक्षतामाथि निरन्तर प्रश्न उठ्दै आएको थियो।