बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ।
राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो।
बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको थियो।
चितुवाको आक्रमणबाट मृत्यु भएकी किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव फेला परेको डिएसपी बोहराले जानकारी दिए। उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ।
बर्दियाको राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाबाट मृत्यु भएको यो दोस्रो घटना हो। गत असोज २२ गते पनि चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो।
उक्त चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर (केज) राखेर एक हप्तामा नियन्त्रणमा लिएको थियो।
-रासस