चीनले सन् २०२७ सम्ममा ताइवानमाथि सैन्य आक्रमण गर्न सक्ने सम्भावना कम हुँदै गएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि नियन्त्रण गर्न आवश्यक परे बल प्रयोग गर्न सक्ने गरी तयार रहन निर्देशन दिएको भनिँदै आएको छ। तर अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ सेनाको तयारीमा भएको ढिलाइ र ताइवानको सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको परिणाम हेर्न चीन इच्छुक रहेकाले आगामी वर्ष नै आक्रमण हुने सम्भावना कम देखिएको हो।
चीनको कम्युनिस्ट पार्टीले चलाएको भ्रष्टाचार विरोधी अभियानले पनि चिनियाँ सेनाको तयारी प्रभावित भएको अमेरिकी अधिकारीहरूको हवाला दिंदै समाचार संस्था रोयटर्सले जनाएको छ। चीनले ताइवानमाथि सैन्य कारबाही गर्ने निर्णय गर्नुअघि सन् २०२८ को निर्वाचनको परिणाम पर्खन सक्ने उनीहरूको भनाइ छ।
ताइवानमा सन् २०२८ मा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) लगातार चौथोपटक सत्तामा आएमा चीनले सैन्य विकल्पतर्फ थप ध्यान दिन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। विशेषगरी वर्तमान राष्ट्रपति लाई चिङ-ते पुनः निर्वाचित भएमा चीनको सैन्य कारबाहीको सम्भावना बढ्न सक्ने उनीहरूको आकलन छ।
‘त्यस्तो भयो भने २०२८ निकै संवेदनशील वर्ष बन्न सक्छ,’ एक अमेरिकी अधिकारीले रोयटर्सलाई भनेका छन्।
लाई सन् २०२४ मा ताइवानको राष्ट्रपति बनेका हुन्। उनको पार्टी डीपीपीले ताइवानको चीनभन्दा अलग पहिचानलाई जोड दिँदै आएको छ। तर चीनले यस्तो धारणा स्वीकार गर्दैन र ताइवानलाई आफ्नो अभिन्न अङ्ग ठान्छ। ताइवानले भने आफ्नो भविष्यको निर्णय त्यहाँका जनताले मात्र गर्न सक्ने बताउँदै चीनको दाबी अस्वीकार गर्छ।
ताइवानमाथि सम्भावित चिनियाँ आक्रमणको सन्दर्भमा सन् २०२७ लामो समयदेखि अमेरिकी सुरक्षा अधिकारी र विश्लेषकहरूले महत्वपूर्ण वर्षका रूपमा हेर्दै आएका छन्।
तर २०२७ लाई चीनले आक्रमण गर्ने निश्चित समयसीमा नभई चिनियाँ सेनालाई सम्भावित सैन्य कारबाहीका लागि सक्षम बनाउने लक्ष्यका रूपमा बुझिएको छ। चिनियाँ जनमुक्ति सेनाको स्थापना भएको १०० वर्ष पुग्ने वर्ष पनि २०२७ हो।
चीनले ताइवानलाई बलपूर्वक आफ्नो नियन्त्रणमा ल्याउने विकल्प कहिल्यै पूर्ण रूपमा अस्वीकार गरेको छैन। तर सन् २०२७ सम्ममा आक्रमण गर्ने औपचारिक आदेश दिएको कुरा चीनले सार्वजनिक रूपमा पुष्टि गरेको छैन।
यसै साता सीले ताइवानबारे बोल्दै दुई किनाराबीचको सम्बन्धको शान्तिपूर्ण विकास गर्दै ‘पुनःएकीकरण’ हासिल गर्ने कुरा गरेका थिए।
अमेरिकी गुप्तचर समुदायले पनि चीन तत्काल ताइवानमाथि आक्रमण गर्ने योजनामा नरहेको संकेत गरेको छ।
मार्चमा सार्वजनिक गरिएको अमेरिकी वार्षिक खतरा मूल्यांकनमा चीनले त्यस समय सन् २०२७ मा ताइवानमाथि आक्रमण गर्ने योजना नबनाएको र सम्भव भएसम्म बल प्रयोग नगरी ताइवानमाथि नियन्त्रण कायम गर्न चाहेको उल्लेख थियो।
२०२८ को अमेरिकी निर्वाचन पनि चीनका लागि महत्वपूर्ण
ताइवानको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक र हतियार आपूर्तिकर्ता अमेरिका हो। दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध भने छैन।
सन् २०२८ को अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई पनि चीनले आफ्नो रणनीतिका लागि मूल्यांकन गर्न सक्ने केही अमेरिकी अधिकारीहरूको भनाइ छ।
तर चीनका लागि अमेरिकी निर्वाचन ताइवानको निर्वाचनजति निर्णायक नहुन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनले ताइवानमाथि आक्रमण नगर्ने ठोकुवा गर्दै आएका छन्। गत वर्ष ट्रम्पले सीले आफू राष्ट्रपति रहुन्जेल चीनले ताइवानमाथि आक्रमण नगर्ने बताएको दाबी गरेका थिए।
गत साता वासिङ्टनमा सीसँग भेट गरेपछि पनि ट्रम्पले ताइवानको विषयमा विस्तृत प्रतिक्रिया दिएका थिएनन्। उनले सीसँग कुराकानीका क्रममा ताइवानको विषय उठेको र सीले आफ्नो धारणा बुझेको बताएका थिए।
चीनले ताइवानलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग जोडिएको सबैभन्दा महत्वपूर्ण मुद्दा मान्दै आएको छ। उसले ताइवानलाई अमेरिकी हतियार बिक्री रोक्न पनि अमेरिकासँग माग गर्दै आएको छ।
ट्रम्पले गत मेमा चीन भ्रमण गरेपछि ताइवानका लागि करिब १४ अर्ब डलरको नयाँ अमेरिकी हतियार प्याकेज स्वीकृत गरेका छैनन्। उनले उक्त हतियारलाई चीनसँगको वार्तामा ‘कार्ड’ का रूपमा प्रयोग गर्न सकिने बताएका छन्।
भ्रष्टाचारविरोधी अभियानले सेनाको तयारी प्रभावित
अमेरिकी अधिकारीहरूका अनुसार सीले जनमुक्ति सेनालाई २०२७ सम्ममा ताइवानमाथि बल प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्य भने परिवर्तन गरेका छैनन्।
तर चीनको भ्रष्टाचारविरोधी अभियानका कारण सेनाको तयारीमा ढिलाइ भएको उनीहरूको भनाइ छ।
सी सन् २०१२ मा सत्तामा आएपछि चीनमा व्यापक भ्रष्टाचारविरोधी तथा अनुशासन अभियान चलाउँदै आएका छन्। यस क्रममा लाखौँ सरकारी कर्मचारीमाथि अनुसन्धान भएको छ भने पार्टी, सरकार र सेनाका वरिष्ठ अधिकारीसमेत कारबाहीमा परेका छन्।
पछिल्ला वर्षमा चिनियाँ जनमुक्ति सेना पनि यस अभियानको प्रमुख निशाना बनेको छ।
सेनाभित्र भएका अनुसन्धान र निष्कासनका कारण सात सदस्यीय केन्द्रीय सैन्य आयोगमा अहिले सीसहित दुई जना मात्र सक्रिय अधिकारी बाँकी रहेका छन्।
अमेरिकी अधिकारीका अनुसार चीनले पछिल्ला वर्षको तुलनामा गत वर्ष कम ठूलो र कम आक्रामक सैन्य अभ्यास गरेको थियो। यस वर्ष अभ्यास केही बढे पनि चिनियाँ सैन्य अधिकारीहरू आफ्नो तयारीको अवस्थाबाट सन्तुष्ट नरहेको अमेरिकी मूल्यांकन छ।
चीनले इरान र युक्रेनमा भएका युद्धबाट पनि केही पाठ सिकेको अमेरिकी आकलन छ।
उनका अनुसार चीनले सम्भावित ताइवान आक्रमण सुरु गरेपछि युद्धलाई लामो समयसम्म तन्किन नदिई छिटो निर्णायक परिणाम हासिल गर्नुपर्ने निष्कर्ष निकालेको हुन सक्छ।
तर त्यसका लागि चीनले अझै धेरै तयारी गर्न बाँकी रहेको एक अमेरिकी अधिकारीले बताएका छन्। उनका अनुसार ताइवानमाथिको सैन्य आक्रमण अत्यन्त जटिल हुनेछ। दोस्रो विश्वयुद्धका बेला अमेरिका लगायतका राष्ट्रहरूले नर्मन्डीमा गरेको सैन्य अवतरणपछि कुनै पनि सेनाले गर्नुपर्ने सबैभन्दा कठिन सैन्य कारबाहीमध्ये यो एक हुन सक्ने उनको भनाइ छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)