यौन हिंसासम्बन्धी सरकारले तयार पारेको प्रस्तावित विधेयकमा पाँचवटा विषय सुधार गर्नुपर्ने सुझाव सांसदहरूसमक्ष प्रस्तुत गरिएको छ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा बुधबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वलिटी नाउले प्रतिनिधिसभाका सांसदहरूसँग गरेको छलफलमा विधेयकमा सुधार गर्नुपर्ने विषय उठाइएको हो।
एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले जबर्जस्ती करणीको परिभाषा, सहमतिको अर्थ, नजिकको उमेर समूहका किशोर–किशोरीबीचको सम्बन्ध, वैवाहिक बलात्कार र हदम्यादसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने बताए।
उनले १८ वर्षमुनिका किशोर–किशोरीबीच दुई वर्ष वा सोभन्दा कम उमेर अन्तरमा सहमतिमा हुने यौन सम्बन्धलाई अपराधको दायराबाट हटाउनुपर्ने सुझाव दिए। तर डर, धम्की, शोषण वा शक्तिको दुरुपयोग भएका घटनालाई भने यसमा छुट दिन नहुने उनको भनाइ थियो।
त्यस्तै, सहमतिलाई स्वेच्छिक र स्वतन्त्र इच्छाबाट दिइएको स्वीकृतिका रूपमा स्पष्ट परिभाषित गर्नुपर्ने, वैवाहिक बलात्कारलाई अन्य बलात्कारसरह सजायको व्यवस्था गर्नुपर्ने र बलात्कारका घटनामा हदम्याद पूर्ण रूपमा हटाउनुपर्ने सुझाव दिइएको छ।
छलफलमा सहभागी सांसदहरूले यौन हिंसाका कसुरदारलाई कठोर सजाय दिनुपर्ने धारणा राखे। एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थितिअनुसार कानुन बनाउनुपर्ने बताइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका कसुरदारलाई अन्य अपराधका दोषीसरह सजाय दिएर मात्रै नपुग्ने भन्दै विशेष सजायको व्यवस्था गर्नुपर्ने बताइन्।
नेकपाकी सांसद बलावती शर्माले पनि यस्ता अपराधमा कठोर सजाय आवश्यक रहेको बताइन्। उनले संविधानको धारा १६ ले मृत्युदण्ड निषेध गरेकाले त्यस्तो सजायको व्यवस्था गर्न नसकिने उल्लेख गरिन्।
कार्यक्रममा नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक प्रस्तुत गर्दै कुल अपराधमध्ये २९ प्रतिशत लैंगिक हिंसाका घटना रहेको जानकारी दिइएको थियो। यौन हिंसाका ७८.५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति रहेको र ६२.४ प्रतिशत पीडित बालिका रहेको तथ्यांक पनि प्रस्तुत गरिएको थियो।
एफडब्लुएलडीका अधिवक्ता विनोदचन्द्र देवकोटाले पर्याप्त छलफल नगरी हतारमा कानुन बनाउन नहुने बताए। प्रस्तावित विधेयकमा व्यापक छलफल गरेर मात्रै कानुन निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।