महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसा अन्त्यका लागि गरिने लगानी खर्च नभई राष्ट्रिय समृद्धिको आधार भएको बताएकी छन्।
बुधबार लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
महिला मन्त्रालय र संयुक्त राष्ट्रसंघ नेपालको आयोजनामा भएको कार्यक्रममा उनले लैंगिक हिंसा अन्त्य र न्याय सुनिश्चित गर्न गरिने लगानीलाई मुलुकको दीर्घकालीन आर्थिक विकास र समृद्धिसँग जोडेर हेर्नुपर्ने बताइन्।
'लैंगिक हिंसालाई सामाजिक वा मानवअधिकारको विषयमा मात्र सीमित नराखी यसले व्यक्ति, परिवार र समग्र राष्ट्रको अर्थतन्त्र तथा उत्पादकत्वमा पार्ने प्रभावको लेखाजोखा गर्नुपर्छ,' उनले भनिन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक उद्धृत गर्दै मन्त्री बादीले १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ५ प्रतिशतले यौन हिंसा भोगेको बताइन्।
शारीरिक वा यौन हिंसा भोगेका ५८ प्रतिशत महिलाले न कसैसँग सहयोग मागेका छन्, न आफूले भोगेको हिंसाबारे कसैलाई बताएका छन्। यो गम्भीर चुनौती रहेको उनले बताइन्।
उनका अनुसार सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव, न्यायिक प्रक्रियामा लाग्ने खर्च र आर्थिक परनिर्भरताका कारण धेरै हिंसापीडित न्यायको पहुँचबाट वञ्चित छन्।
समयमै न्याय र संरक्षण नपाउँदा पीडितको शिक्षा, रोजगारी, आयआर्जन र उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले उनीहरूलाई थप गरिबीको चक्रमा धकेल्छ। स्वास्थ्य उपचार, कानुनी सहायता, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा लाग्ने खर्च तथा हिंसाका दीर्घकालीन असरसमेत जोड्दा यसको आर्थिक क्षति झन् ठूलो हुने उनले बताइन्।
नेपालको संविधानको धारा ३८ (३) ले महिलालाई हिंसाविरूद्धको मौलिक हक सुनिश्चित गरेको छ। घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ र मुलुकी अपराध संहिता, २०७४ मा पनि हिंसाविरूद्ध कानुनी व्यवस्था छन्।
कानुनी व्यवस्थाका साथै न्याय प्राप्तिमा रहेका संरचनागत अवरोध हटाएर न्याय प्रणालीलाई पीडितमैत्री, छिटो, सहज र पहुँचयोग्य बनाउनुपर्ने मन्त्री बादीले बताइन्।
सरकारले लैंगिक हिंसाविरूद्धको राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८२/८३–२०८७/८८) तर्जुमा गरेको छ। कार्ययोजनामा हिंसाप्रति शून्य सहनशीलता, मानवअधिकारको सम्मान, लैंगिक समानता, पीडितकेन्द्रित दृष्टिकोण, सरकारका विभिन्न तहबीच समन्वय र जबाफदेहितालाई मुख्य आधार बनाइएको छ।
सबै प्रकारका लैंगिक तथा प्रविधिजन्य हिंसा रोकथाम, पीडितको तत्काल उद्धार, संरक्षण र पुनर्स्थापना, निःशुल्क कानुनी सहायता, द्रुत न्यायिक सुनुवाइ र तीनै तहका सरकारबीच समन्वयलाई कार्ययोजनामा प्राथमिकता दिइएको मन्त्री बादीले जानकारी दिइन्।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले हिंसापीडितको संरक्षण र पैरवीमा खटिने अधिकारकर्मी, सञ्चारकर्मी तथा कानुन व्यवसायीहरू स्वयं हिंसा र धम्कीको सिकार भइरहेको बताइन्।
हिंसापीडितका पक्षमा पैरवी गरेकै कारण आफूमाथि धम्की आएको भन्दै अधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरू आयोगमा उजुरी दिन आउने गरेको उनले जानकारी दिइन्।
'हिंसाका घटनामा जानेर वा नजानेर ७५ प्रतिशतभन्दा बढी घटनामा प्रत्यक्ष रूपमा पुरूषहरू जोडिने गरेको देखिन्छ। पीडितलाई मात्र सचेत बनाएर समस्याको समाधान हुँदैन,' उनले भनिन्।
शक्ति, पहुँच र बल हुने पक्षले कमजोरमाथि हिंसा गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले हिंसाविरूद्धका सचेतना अभियानमा पुरूषहरूको पनि सक्रिय सहभागिता हुनुपर्ने बताइन्।
यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबै समुदायलाई समेटेर हिंसाविरूद्धका अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
उनले मन्त्रालयले प्रवर्द्धन गरिरहेको 'मेन इन्गेज अलायन्स' जस्ता पहललाई महत्त्व दिँदै सबै उमेर समूहमा हिंसाविरूद्ध सचेतना फैलाउनुपर्ने बताइन्।
कार्यक्रममा लैंगिक हिंसा अन्त्यका लागि नीतिगत तथा व्यावहारिक तहमा गर्नुपर्ने सुधारबारे पनि छलफल भएको थियो।
सुगारिका केसीले सहजीकरण गरेको छलफलमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव अरूणा जोशी र नेपाल बार एसोसिएसनका उपाध्यक्ष अजय शंकर झा सहभागी थिए।
त्यस्तै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ, दलित महिला संघकी अध्यक्ष रेनु सिजापति र नारीवादी अर्थशास्त्री डा. बिना प्रधान पनि छलफलमा सहभागी थिए।