काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान स्कुलको शिलान्यास गरेकी हुन्।
वडाध्यक्ष कुश ढकाल सहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरे।
शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरू सरह नै समान अधिकार पाउनुपर्ने बताइन्।
अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट बञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनले बताइन्।
उनले शारीरिक अशक्तता भएकै कारणले शिक्षा लगायतको अधिकारबाट बञ्चित रहने बालबालिका धेरै रहेको भन्दै उनीहरूलाई सरकारले अधिकार दिनुपर्ने बताइन्।
महानगरले सबैको साझा सपनामा एउटा इँटा थप गर्ने काम मात्रै गरेको उनको भनाइ छ।
काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ।
यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरूको सहायताका लागि बहुउपयोगी हुने उनको विश्वास छ।
डंगोलले भनिन्, ‘हरेक बालबालिकाले पढ्न पाउने अधिकार छ। हरेक बालबालिकाले खेल्न पाउने अधिकार छ। हरेकले अवसर प्राप्त गर्ने, सँगै सम्मानपूर्वक बाँच्न पाउने हरेक बालबालिकाको समान अधिकार छ। तर यो भनिरहँदा पनि अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट बञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छ। अझै पनि धेरै त्यस्ता बालबालिका हुनुहुन्छ, जो शिक्षाबाट बञ्चित हुनुहुन्छ।’
उनले अगाडि भनिन्, ‘काठमाडौं महानगरपालिकाले आज काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एण्ड रिसर्च सेन्टरको शिलान्यास गर्नुको अर्थ यो भवनको शिलान्यास मात्र गरेको होइन। यसमा हामी सबैले कल्पना गरेको मानवताको सहर, करूणाको सहरमा एउटा इँटा थप्ने काम भएको हो।’
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० वककर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ।
भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ। १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन्। ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ। भवनको भूमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ। जमिन तलामा खुला भाग, भर्याङ र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ। पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन्। चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ। पाँचौँ तलामा बार्दली हुनेछ। जमिन तलामा खेल्ने खुला भाग हुनेछ। लिफ्ट ८ जना क्षमताको हुनेछ। शौचालय तथा कोठाहरू पहुँचयुक्त हुनेछन्।
भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो।
सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ।
निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो।
२०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ। भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट भएको हो। –न्युज एजेन्सी नेपाल