नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा १० जना घाइते भएका छन्।
बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ।
नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।
दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६:१५ बजे उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको डिएसपी थापाले जानकारी दिए।
घाइतेमध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई थप उपचारका लागि बिहान ६ बजे चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ।
बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको र उनलाई पनि बिहान ७:४० बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
अन्य घाइतेमा गोरखा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारू, बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारू, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी छन्।
उनीहरूलाई अनुहार, टाउको, कम्मर, हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। अधिकांश घाइते बोल्न सक्ने अवस्थामा छन्।
घाइतेमध्ये अनोज खत्री अछामस्थित श्री गोरखबक्स गण मंगलसेन ब्यारेकमा प्युठ पदमा कार्यरत रहेको र दसैं बिदामा घरतर्फ जाँदै गरेको खुलेको छ।
बसमा सवार यात्रुमध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।