रोशी खोलाको काखैमा कच्याककुचुक बिग्रेको बीपी हाइवेले मलाई हेरिरहेजस्तै लाग्थ्यो। पल्लो भित्तामै टिमिक्क मिलेको तेमालको भोर्ज्याङ गाउँले मलाई पुलुक-पुलुक हेरेर खुसी भएजस्तै भान हुन्थ्यो।
मैले भ्याकुरे खोलामा बगेका निर्मल जलले असिनपसिन भएको अनुहारमा हत्केलाको अञ्जुलीले छ्याप-छ्याप अनुहारमा पानी छ्यापेँ। असोजको बाढीले रूप बिग्रेको कालढुंगा बजारले सुरक्षाको निम्ति अपिल गरिरहेका थिए। घरहरू झुन्डिएका थिए। हजारौँ आशाका अनुहारमा निराशाको आँधीहरू धुलोसँगै बहेको देखिन्थ्यो।
रोशी खोलाको अनियन्त्रित बाढीको सन्त्रासमय आवेगको गतिले जलाएका व्यवसायीहरूको मन बिस्तारै उठ्न लागेको थियो। बाटाहरू धमाधम निर्माण हुँदै थिए। सडक छेउका क्रसरहरू ढुंगा पेल्न व्यस्त थिए।
एकल यात्रामा अन्तर्द्वन्द्वका कहानीहरू मस्तसँग आपसमा भिडिरहेका थिए। अधिकृतका विज्ञापनहरू गोरखापत्रमा बिस्कुनझैँ छरिएका थिए। अफिसरका पुस्तकहरू झोलामा कुचुक्क निसास्सिएका थिए। अधुरो जागिरको गन्तव्यविहीन यात्रामा जीवनका झिनो आशाले मेरा पाइलाहरू अगाडि बढिरहेका थिए।
थकित भएँ। पाइन्टमा लागेका जंगली बिरुवाका साना गुजुल्टिएका टाँसिएका काँडा र फूलहरू उछिट्याइरहेँ। पूर्व जाने बस अनि हाइसहरू खुर्कोटतर्फ कुदिरहेका थिए। म बसको पर्खाइमा थिएँ। एउटा हाइस आयो। नजिक आएर रोकियो। चालकले सोध्यो, ‘काठमाडौं जाने हो?’
‘हो,’ मैले जवाफ फर्काएँ।
बनेपा भने चढाउँदैनन्। फ्याट्ट मेरो मुखबाट झ्वाट्ट प्रश्न पोखियो, ‘दाइ, कतिमा लाने?’
हाइसका यात्रीहरू हाँसे।
‘मिलाएर लान्छु, बस्नुस्, तीन सय त हो!’
म अकमक्क परेँ! ह्या, छोडिदिऊँ, बस आउँछ कि आउँदैन, यसैमा जाऊँ, अर्को मनले भन्यो, कम्तीमा ५० रुपैयाँ जोगिन्छ, बसले भए २५० मा लान्छ।
‘ल, म नजाने, बसमा आउँछु,’ म पछि सरेँ।
घामले फुङ्ग रङ उडेको झोला, सुपरग्लुले जोडिएका जुत्ता, ठुस्स गन्हाएका मोजा, पसिनाले टिलिक्क टल्केको निधारमा भिजेका रुमालले पुछिरहेँ। सडकको माथिल्लोपट्टिको चिल्लो ढुंगामा टुसुक्क बसेर बस पर्खिरहेँ।
इभी गाडी आयो, रोकुलाझैँ गर्यो, म भाडा महँगो लिन्छ भन्ने डरले त्रसित थिएँ, मैले मुन्टो हल्लाउँदै नजाने संकेत गरेँ। सफा गाडीहरू आउँथे, जति सफा र टिलिक्क भो, म त्यति डराउँथे। हुन त म किन डराउनू, गोजीका पातला नोटको दरिद्रतामा डराएको पो थिएँ।
यसरी मसिना गाडीहरूको ओहोरदोहोरले उडेको धुलोले काला कपाल सेताम्मे भएका थिए। २ घन्टा बित्यो, तर बस आएन। व्यग्र प्रतीक्षा र ५० रुपैयाँको अन्तरको तुलनात्मक अध्ययनको दिमागी भग्नावशेषमा लुकेका लोभका कणले मलाई आपद् पो पार्यो!
५ बजिसकेको थियो, घाम कमलपित्त लागेझैँ पहेँलिएर झर्न लागिरहेको थियो। अत्यासलाग्दा अनुहारमा धैर्यताको बाँध टुट्न लाग्यो। एउटा डबल क्याप बोलेरो भ्याकुरे खोलाको किनारै किनार हर्न बजाउँदै आयो। अगाडिका सिटमा प्यासेन्जर टन्नै थिए। बाहिर कुचो कोचिएको थियो। लचक-लचक लच्च्किएको थियो।
अब यसमै नगए पुगिन्न, मैले हातले रोक्ने इशारा गरेँ, बोलेरो रोकियो। मेरो अनुहारमा खुसी दौडियो। म पछाडि कुचो समाउँदै झुन्डिएँ। बोलेरो अगाडि बढ्यो। चिसो हावाले निधारमा डाम बस्लाझैँ गर्यो। कुचोका फूल र धुलोहरू लुगाभित्र पस्यो, चिलाउन थाल्यो, गाडी चढ्न पाएकोमा त्यसको प्रवाह थिएन।
अगाडि र पछाडिका गाडीहरू बत्तिएर आउँथे। चिल्ला प्राइभेट गाडीका कुदाइको गति फरक थियो। ती गाडीमा सवार व्यक्तिहरू खित्का छाडेर हाँसेको मुखको उध्राइबाट प्रस्ट हुन्थ्यो, आवाज भने सुनिँदैनथ्यो।
दाप्चा पुल नं. १ मा पुगेर गाडी स्लो भयो। साँझका किराहरूले आजको दिनलाई बिट मार्दै थिए। क्रसरहरूमा बिजुलीबत्तीको लाइटले धुलोहरू असरल्ल पोखिएको देखिन्थ्यो। भोकले पेट करायो, एक्लै भएकोले लजाउनै परेन। गाडी पाएकोमा भोक मेरो दोस्रो समस्या थियो, जो प्राथमिकतामा थिएन।
भर्खर उदाउन लागेको नवीन सहर। फाट्टफुट्ट झिलिमिली देखिए। भकुन्डे बजारको आगमनको संकेत। पुलैको मुखनेर लगेर गाडी रोकियो। ‘अब खाजा खाने, झर्ने हैन,’ चालकले भन्यो।
‘हुन्छ, गुरूजी,’ म ढालामा टेक्दै फुत्रुक्क तल ओर्लिएँ।
चिसो र स्याँठले ओँठ हरियो भइसकेको थियो। घाँटीमा कुचोको चिलाउने धुलोले राताम्मे भई जुवाले गोरूको बाक्लो काँध भएजस्तै भएको थियो। मानिसहरू ह्वारह्वार्ती होटलभित्र पसे। होटलवाला दाइ ट्वाइलेट यता, धारा यता भन्दै थिए। म नि सुटुक्क शौचालय हानिएँ, शौच गर्न।
गाउँबाट भोकाएर, कोही बान्ताले पेट रित्तिएर आएका हुन्थे। उनीहरूको खुवाइमा बेग्लै मजा थियो, मानौँ पेटका मुसाहरूले एक महिनासम्म व्रत बसेका छन्। उनीहरू मजाले खानेकुरा हुलिरहेका थिए। हाइवे छेउका होटलहरू महँगा हुन्छन्, भोकाएका पेटहरू आफैँ अघाएर ढ्याउ आउँथ्यो।
चुकुल लगाएँ शौचालयको। पुरानो पर्सको एउटा कुनोमा बाघ गर्जिरहेको थियो। सायद चितवनको सौराहाको हात्ती हुँदो हो त पेटमा दौडिएका मुसाका बेगको गतिलाई कम गर्न सकिन्थ्यो। यी बाघे झाप्पुले होटलका खाजालाई आकर्षण गर्न सक्दैनथ्यो। अनि मैले मनमनै भनेँ, ‘हेर घनश्याम, तँ बनेपा पुग्न सक्छस् तर फर्कन सक्दैनस्। फर्कन फेरि कसैसँग सापटी माग्नुपर्छ।’
मैले पेटलाई सम्झाएँ, ‘तँ भर्खरै संघर्षको मैदानमा छस्, नआत्तिनू। पेटमा अहिले बोसो जम्न दिन हुन्न। कोलेस्ट्रोलको खाँचो छैन। युरिक एसिडका बिमारले सताउन सक्छन्।’
जागिर भएको ३ महिना भएको थियो। चैतमा तलब आउँथ्यो। चौमासिक तलब आउने। झन् निजीस्रोतको तलबको के ठेगान? मलाई डोर्याउँदै गाउँको स्कुल पुर्याएको थियो मास्टर बनाएर। निजीस्रोतको मुहान सुक्यो, जागिर चट! स्कुलमा ६ घन्टी जोतिनुपर्ने, तलब साढे पच्चीस हजार!
मुखमा प्याज ठुस्स गन्हाएको थियो। प्याजको तरकारी खाएको हप्तौँ बितिसक्यो। नङका काप-कापमा बेसारले पहेँलिएको थियो। कपालबाट चायाँ कनिका झैँ झर्थ्यो। उमेर २७, तर ३७ कटेझैँ देखिन्थेँ। यी मेरा मौलिक विशेषता, उमेरभन्दा शरीर अघिअघि कुदेझैँ देखिन्थ्यो।
गुरूजीले सोधे, ‘दाइ, खान पर्दैन?’
मैले दुरुस्त पार्दै भनेँ, ‘कालढुंगामा सुकुटी र चिउरा खाएर आएको!’
‘ए ल ल, बस्नुस्,’ उसले ढोका बन्द गर्दै गाडी स्टार्ट गर्यो।
मैले ढाँटेको थिएँ। चौपट्टै भोकले आन्द्रा बटारिएझैँ भयो। मुटुमा हान्न थाल्यो। सास रोकिएलाझैँ गर्यो। उध्रिएको झोलाबाट मिनिरल वाटर झिक्दै घटघट पानी पिएँ। अलि सन्चो भयो।
उभिन सकिनँ, म टुसुक्क बसेँ। कुचोका टुप्पाले टाउकामा प्याट्ट-प्याट्ट हान्थ्यो। घोप्टो परेँ। गाडी हुइकियो बेस्कन। अँध्यारो भइसकेको थियो। आँखा बन्द गरेँ, निदाउन सकिनँ। झलझली विद्यालयको तस्बिर नाच्न थाल्यो।
म सम्झन थालेँ।
‘नमस्कार, घनश्याम सर!’
म झस्केँ। पछाडि फर्केँ, उल्लुराम काका रहेछन्।
‘काका, किन तपाईं यतिखेर?’ मैले सोधेँ।
‘तपाईंका कोठाका ढोका लगाएका रहेनछन्, त्यसैले म स्वाट्ट छिरेँ। गल्ती भए माफ पाउँ।’
‘ह्या, काका, छोडिदिनुस्। बरु केही छ भने भन्नुस्। अँ, छोरो कमजोर छ हिसाबमा। तपाईंले ट्युसन पढाइदिनुपर्यो। पछि मास्टरी गरेर खाला कि भन्ने आस छ। तर ठूलो भएपछि विदेश जान्छु भन्छ!’
मेरो मनमा च्वास्स घोच्यो।
उमाकान्त मेरो छिमेकी हुन्। शिक्षण गरेको १५ वर्ष भयो। मेरो काँधमा धाप मार्दै भने, ‘हेर बाबू! मास्टरी गरेर केही हुन्न! यी टाइम पास मात्र हुन्! दुःख लुकाएर मुस्कान छर्ने पूर्णिमाको जूनजस्तै हो। पूर्णिमामा तारिफ र औँसीमा साथ छोड्छन्। बरु अधिकृत बन्नू!’
‘मतलब?’ मैले प्रश्न गरेँ।
‘हो, अधिकृत बन्नू, निजामती क्या!’
म छक्क परेँ।
‘तपाईंको तलब त अधिकृत बराबर हैन र?’
‘हो बाबू, हुन त, हाम्रो यताउती हुन्न!’
म छक्क परेँ। के हो यताउती भनेको? मनमा खुल्दुली भयो।
चिप्लेटी ढुंगामा बस्दै उमाकान्त काकाले आफ्नो व्यथाका थैली खोल्दै जानुभयो।
‘म सग्लो थिएँ, रित्तियो। सम्बन्धहरू गाढा थिए, धमिलो भयो! जोश-जाँगर थियो, क्षयीकरण भयो। घरपायक जागिर कहिल्यै भएन, परिवारमा बिग्रह आयो। कमाएको देख्यो, खर्चेको देखेन, समयको लगानी देखेन, उभिएर पढाएको मात्र देख्यो। राज्यले दोस्रो दर्जा दियो, कानुन दियो, कार्यान्वयन दिएन। आश्वासन दियो, भरोसा कहिल्यै भएन।’
काकाको गला अवरुद्ध भयो।
‘मलाई धेरैले सोध्छन्- सदरमुकाममा घडेरी कति वटा छन्? घर कहाँ बनाएको छ? यी प्रश्नको जवाफ मसँग छैन। मैले परिवारको लागि त्याग गरेँ, म सधैँ त्यागिएँ। अधिकारविनाको जागिर कर्तव्यमात्रले थोपरिँदा म जीवनको बाटो खोज्दाखोज्दै हराएँ।’
काकाको नयनबाट तप्प आँसु खस्यो।
यी काका देखिँदा धेरै खुसी छन्, तर भुसको आगोझैँ जल्दै गरेको कसैले देखेन। सरकारी विद्यालयमा शिक्षक अभावको जटिलतालाई मैले पूरा गर्न लाग्दै गर्दा मिसनबाट फर्कन मन लाग्यो। काठमाडौंको एउटा कुनामा बसेर सामान्यज्ञान रट्न मन लाग्यो। आईक्यूको शब्दजाल फोड्न मन लाग्यो। अधिकृतको विज्ञापनको बाढीमा होमिन मन लाग्यो।
बोलेरो काभ्रेभञ्ज्याङमा रोकियो। ट्राफिक प्रहरीले कागजात माग्दै थिए। गुरूजी ट्राफिकको कानमा फुसफुसाउँदै थिए, खै के भने, जा भनेर हातले संकेत गर्यो। म डल्लो परेर कुचोको फुर्कोमा मुन्टो लुकाउँदै थिएँ। पेट्रोल पम्प नजिक पुगेर म खिस्स हाँसे।
भावी अधिकृत खसीको मूतको गन्ध आएको बोलेरोको पछि मुन्टो लुकाउँदै भाडा तिर्न नसकेर खसीबोका झैँ यात्रा गर्दैछ। मैले मनमनै सोचेँ, ‘मलाई त जोखेर भाडा लिए नि हुने, खसी जस्तै। कम्तीमा सस्तो पर्ने थिएँ।’
बनेपा बसपार्क ओर्लिएँ। रातिको साढे आठ बज्यो। घुम्ती ठेलागाडामा सेकुवाको वास्ना आइरहेको थियो। २०० भाडा तिरेर ३०० बच्यो। घुम्ती ठेलागाडा नजिक गएँ। भोकले ३ प्लेट म:म खाउँझैँ भएको थियो। साँघुरो पर्सको कारण भोका पेटलाई सम्झाएँ। एक प्लेट म:म खाएँ अनि सुत्न अन्तरे काकाकोमा गएँ।
काकाले रिक्सा थन्क्याइसकेका थिए। काका सुध्रिनु भो, काकीले छाडेर गएदेखि। भाँडा जुठै, बाटामा कुकर डुबाइएको, बाटाको पानीमा तेल तैरिरहेको थियो।
मैले झोला खोलेँ, निकालेँ अधिकृतको पहिलो पत्रको पुस्तक। धमिलो प्रकाशमा पढ्न थालेँ। किताब खुम्चिएको थियो, अक्षरहरू ठाउँठाउँ तन्किएका थिए। सपनाहरू फिजिन थाले, निद्रादेवी भाग्दै थिइन्।
झोल म:म बेला-बेला कराउँथ्यो। आधा अघाएका पेट काँचै थिए। सपनाहरू छरिएका थिए। महँगी र अभावसँग सपनाहरू आत्मसमर्पण गर्न लागेझैँ देखिन्थे। संयमता अपनाउँदै म भित्रको मको क्षमता खोज्दै थिएँ। अधुरो र सपना खोजिने सहरमा!!
सिरानीमा पसिनाको गन्धले नाकमा च्वास्स घोच्थ्यो। अन्तरे काका मस्तसँग घुरिसकेका थिए। कोठामा माकुराले लगाएका जालोजस्तै मेरो जीवनमा आर्थिक अभावले जेलिएका थिए। अभावको काँखमा उम्रेका इच्छाशक्तिले निदहराम भएको थिएँ। सडकमा कुकुर भुकेको सुनिन्थ्यो। म तर्सन्थेँ। भोलिको नवीन यात्राको लागि पुस्तकका पन्नामा साँध राख्दै सुत्ने प्रयास गरिरहेँ। निद्रा पर्न सकेन।
बजारमा सयौँ लेखकका पुस्तकहरू छरिएका थिए। मैले सबभन्दा सस्तो अधिकृतको पुस्तक किनेको थिएँ। यी पुस्तकका अक्षरहरू नछुटाई गन्छु। गोरखापत्रमा तीन पुस्ते नाम छापियोस्। सायद अधिकृत भएपछि क्वार्टर दिन्छ होला, यसरी कोठा खोज्नु पर्दैन। आधा पेट बस्न पर्दैन।
लचकदार सिटमा यात्रा गरिन्छ होला, कुचोमा झुण्डेर यात्रा गर्न पर्दैन। ओरिजिनल नमस्तेहरू आउलान्। मित्रहरूले गर्वले छाती फुलाउलान्। सामाजिक सञ्जालमा बधाई ओइरिएलान्!
कल्पना गर्दागर्दै सुतेछु।