सन् १९४१ को जुन २२।
स्तालिनको नेतृत्वमा रहेको सोभियत संघमाथि हिटलर नेतृत्वको नाजी जर्मनीले विशाल सैन्य आक्रमण सुरु गर्यो। सोभियत भूमिमा युद्धको भीषण आँधी उठ्यो। हिटलरले केही महिनामै सोभियत संघलाई घुँडा टेकाउने अनुमान गरेका थिए। तर त्यो अनुमान गलत साबित भयो।
मस्कोको मोर्चा, स्तालिनग्रादको भीषण युद्ध र पछि कुर्स्कको निर्णायक भिडन्तले युद्धको दिशानै बदलिदियो। जर्मन सेना क्रमशः पछि हट्दै गयो। अन्ततः सन् १९४५ मा सोभियत सेना बर्लिन प्रवेश गर्यो। नाजी जर्मनी पराजित भयो।
युद्ध सकिए पनि युद्धका छायाहरू भने सकिएका थिएनन्।
बर्लिन विजयपछि हजारौँ जर्मन युद्धबन्दी सोभियत नियन्त्रणमा आए। युद्धको कठोर वातावरणमा उनीहरूमाथि सैनिक अनुसन्धान, हिरासत र निर्वासनका प्रक्रिया अघि बढाइए। जर्मन पक्षलाई सहयोग गरेको आरोप लागेका केही मानिसहरूलाई समेत कडा सजाय दिइयो।
त्यही क्रममा एक हजारभन्दा बढी जर्मन युद्धबन्दीलाई लिएर बटालियन कमान्डर क. सोभको नेतृत्वमा एउटा लामो यात्रा सुरु भयो। उनीहरूलाई साइबेरियातर्फ लगिँदै थियो।
अर्कोतिर, प्लाटुन कमान्डर मेरिनाको जिम्मामा पचास जना बन्दी थिए। उनीहरूलाई सखालिनस्थित दण्ड शिविरतर्फ लैजान एउटा जहाजमा राखिएको थियो।
बन्दीहरूमध्ये एक जना थिए—आन्द्राइ।
उनीमाथि सोभियत संघविरुद्ध जासुसी गरेको आरोप थियो।
आन्द्राइले आफू निर्दोष भएको दाबी गर्दै आएको थियो। तर युद्धको समयमा आरोप र सत्यबीचको दूरी निकै सानो हुन्थ्यो। अनुसन्धान पूरा नहुँदै पनि मानिसको भाग्य बदलिन सक्थ्यो।
मेरिनालाई आन्द्राइप्रति कुनै व्यक्तिगत घृणा थिएन। तर उनी उसको सुरक्षाकर्मी थिइन्, न्यायाधीश होइनन्। उनको काम आदेश पालना गर्नु थियो।
उनी त्यसैमा विश्वास गर्थिन्।
सखालिन पुग्न अब पाँच मिनेटजति मात्र बाँकी थियो।
समुद्र शान्त थियो। जहाजमा रहेका बन्दीहरू थकित र मौन थिए। पहरेदारहरू आ–आफ्नो स्थानमा थिए।
अचानक समुद्रको रंग बदलियो। टाढाबाट कालो बादल तीव्र गतिमा अघि बढिरहेको देखियो। हावा एकाएक चल्न थाल्यो। केही मिनेटमै त्यो सामान्य हावा आँधीमा परिणत भयो। जहाज हल्लिन थाल्यो।
‘सबै जना आ–आफ्नो स्थानमा!’ मेरिनाको आदेश समुद्रको गर्जनमाथि सुनियो।
तर प्रकृतिको अगाडि आदेशको शक्ति मधुरो भयो। एउटा ठूलो छालले जहाजको एक भागमा प्रहार गर्यो। जहाज हावाको वेगसँगै जोडले हुइँकिन थाल्यो। बन्दीहरू चिच्याए। केही पहरेदारहरू लडे। काठ, फलाम र सामानहरू यताउता ठोक्किन थाले।
मेरिनाले एउटा डोरी समातिन्। त्यसपछि उनलाई केही सम्झना रहेन। आँखा खोल्दा मेरिनाले आफूलाई समुद्रको छालसँगै हल्लिरहेको जहाजको भग्नावशेषमा भेटिन्।
केही क्षण उनी स्थिर भएर बसिरहिन्। शरीरभरि पीडा थियो। कपडा भिजेका थिए। ओठ सुक्खा थिए। उनले उठ्ने प्रयास गरिन्। कमरमा बाँधिएको बन्दोबस्तीको झोला अझै थियो। यो देखेपछि उनलाई केही राहत मिल्यो। तर त्यो राहत एकछिन मात्र टिक्यो।
भग्नावशेष समुद्रको छालसँगै बिस्तारै बाहिरतिर तानिँदै थियो। हावाको गति अझ बढ्यो भने त्यो टुक्रा समुद्रको गहिराइतिर बग्न सक्थ्यो।
‘जमिन।’
उनले क्षितिजतिर हेरिन्। केही पर चट्टानी किनारा देखिन्थ्यो। उनले ढिला गरिनन्। भग्नावशेषबाट चट्टानतिर हामफालिन्।
जहाज ठोकिएको ठाउँबाट जमिनतर्फ जान एउटा ठाडो ढिस्को चढ्नुपर्थ्यो। ढिस्कोको भित्तामा ठाउँ–ठाउँमा चट्टानका प्राकृतिक खाल्डाहरू थिए।
मेरिनाले एउटा चट्टान समातिन्।
अर्को।
फेरि अर्को।
उनी माथि चढ्दै थिइन्। त्यही बेला उनको आँखा नजिकैको अर्को चट्टानमा अड्किएको फलामको सिक्रीमा पर्यो।
उनले ध्यान दिएर हेरिन्। सिक्री कुनै सामानको थिएन। त्यो हत्कडीको सिक्री थियो। र तल चट्टानको बीचमा एक मानिस झुन्डिरहेको थियो।
‘आन्द्राइ!’
उसले टाउको उठायो।
उसका दुवै हातमा हत्कडी थियो। हत्कडीको सिक्री चट्टानमा अड्किएको थियो। त्यसैले उसले चट्टान समातेर माथि चढ्न सकिरहेको थिएन।
‘मेरो हात अड्कियो!’ आन्द्राइ चिच्यायो।
मेरिना तल झरिन्। उनले हत्कडीको एउटा ताल्चा खोलिन्। आन्द्राइको एउटा हात स्वतन्त्र भयो।
‘अब चट्टान समात!’
आन्द्राइले चट्टान समात्यो।
‘माथि जाऊ!’
आन्द्राइले पूरा शक्ति लगायो। मेरिनाले पनि माथिबाट उसको हात तानिन्। केही क्षणको संघर्षपछि आन्द्राइ ढिस्कोमाथि पुग्यो। दुवै जना केही क्षण त्यहीँ लडेर सास फेर्न थाले।
समुद्र तल गर्जिरहेको थियो। आन्द्राइले मेरिनातिर हेर्यो।
‘तपाईंले मलाई किन बचाउनुभयो?’
मेरिनाले उत्तर दिइनन्। उनको नजर समुद्रमा थियो।
‘अहिले त्यसको अर्थ खोज्ने समय होइन।’
उनी उठिन्।
‘पहिले बाँच्ने ठाउँ खोजौँ।’
टापु निकै सानो थियो।
झन्डै चार वर्ग किलोमिटरभन्दा ठूलो नहोला।
जहाज ठोकिएको ठाउँ टापुको एक छेउमा कुइनेटो परेको थियो। त्यसको विपरीत दिशामा लामो समुद्री बगर थियो। भित्री भागमा बाक्लो झाडी र केही अग्ला रूखहरू थिए।
साँझ पर्न लागेको थियो। मेरिनाको शरीर थकानले लखतरान भइसकेको थियो। सबैभन्दा ठूलो समस्या थियो—आजको रात कहाँ बिताउने?
उनले आफ्नो बन्दोबस्तीको झोला खोलिन्। भित्र एउटा तुम्लेट थियो। पानी बाँकी थियो। उनले धित मरुन्जेल पानी पिइन्। त्यसपछि सानो कम्बल निकालिन्। केही पाउरोटी र दुई बोतल भोड्का पनि थियो।
उनले पाउरोटीको सानो टुक्रा खाइन्। शरीरमा केही शक्ति फर्किएजस्तो भयो। त्यसपछि उनले समुद्रतिर हेरिन्। जहाजको भग्नावशेष अझै कुइनेटोमा अड्किएको थियो।
‘आन्द्राइ।’
‘हजुर?’
‘जहाजमा अझै केही सामान हुन सक्छ।’
‘म जान्छु।’
आन्द्राइ अघि बढ्यो।
मेरिनाले अचानक उसलाई रोकिइन्।
‘पर्ख।’
‘किन?’
‘म आफैँ जान्छु।’
‘तपाईं थाकिसक्नु भएको छ।’
‘त्यो मलाई थाहा छ।’
‘त्यसो भए मलाई जान दिनुहोस्।’
मेरिनाले केही क्षण सोचिन्।
‘जहाजको अवस्था कस्तो छ, थाहा छैन। तिमीलाई केही भयो भने!’
‘म कैदी हुँ। मेरो ज्यानको मूल्य तपाईंको भन्दा कम छ।’
मेरिनाको अनुहार कठोर भयो।
‘त्यस्तो कुरा नगर। सबैको ज्यानको मूल्य बराबर हुन्छ।’
उनी आफैँ जहाजतिर लाग्दै भनिन्— ‘तिमीसँगभन्दा मसँग तालिमबाट प्राप्त अनुभव बढी छ।’
आन्द्राइ पछिपछि गयो।
जहाजभित्र पानी भरिइसकेको थियो। केही ठाउँमा फलाम बाङ्गिएको थियो। सामानहरू छरिएका थिए। दुवैले मिलेर पाउरोटी, कम्बल, केही डोरी, भाँडा र पानीका भाँडाहरू निकाल्न थाले।
मेरिनाले सबै सामान डोरीले बाँधिन्। आन्द्राइले किनारबाट तान्यो। दुवैको सहकार्यले त्यो काम सम्भव भयो।
झमक्क साँझ परिसकेको थियो। उनीहरू थकित भएर बगरमा फर्किए। मेरिनाले पाउरोटी निकालिन्। दुई टुक्रा आन्द्राइलाई दिइन्।
‘खाऊ।’
आन्द्राइले पाउरोटी लियो।
‘भोड्का?’
मेरिनाले बोतल उसकोतिर बढाइन्।
उसले एक घुट्को पियो।
‘धन्यवाद।’
‘धेरै नखाऊ।’
‘किन?’
‘भोलि काम गर्नुपर्छ।’
‘कस्तो काम?’
‘पानी खोज्ने। आश्रय बनाउने। उद्धारको संकेत बनाउने।’
आन्द्राइले समुद्रतिर हेर्दै भन्यो— ‘यदि कोही हामीलाई खोज्न आएन भने?’
‘त्यसका लागि पनि तयार हुनुपर्छ।’
दुवैले खाना खाए। रात गहिरिँदै गयो। थकानले उनीहरू निदाए।
रातको करिब दुई बजेको थियो। आन्द्राइ ब्युँझियो। उसले आफ्नो हाततिर हेर्यो। एउटा हातमा अझै हत्कडी थियो। उसले मेरिनातिर हेर्यो। चन्द्रमाको मधुरो उज्यालोमा उनको अनुहार देखिन्थ्यो। युद्धको कठोर अनुशासनले छोपिएको त्यो अनुहार निद्रामा भने असाध्यै शान्त देखिन्थ्यो।
उनलाई उठाएर हत्कडी खोलिदिन अनुरोध गर्न मन लाग्यो। तर उसले साहस गरेन। उसले आफूलाई रोक्यो।
‘यदि उनी जागिन् र मैले हत्कडी खोल्न मागेँ भने?’
‘उनले मलाई विश्वास गर्लिन्?’
‘सायद नगर्न सक्छिन्।’
उसले आँखा बन्द गर्यो।
उसको मनमा अर्को विचार आयो— कम्युनिस्टहरू धेरै निर्दयी हुन्छन् भन्ने उसले धेरैपटक सुनेको थियो। तर मेरिनाले आफूलाई चट्टानबाट निकालेर बचाएको घटनाले ‘कम्युनिस्टहरूमा दया हुँदैन’ भन्ने धारणामा सत्यता नभएको महसुस गरायो।
केही बेरपछि उसको थाकेको शरीर फेरि निदायो।
बिहान मेरिना ब्युँझिइन्। आन्द्राइ उठिसकेको थियो। ऊ समुद्रतिर हेर्दै थियो।
‘राति निदायौ?’ मेरिनाले सोधिन्।
‘थोरै।’
‘हत्कडीले समस्या भयो?’
आन्द्राइले आफ्ना हाततिर हेर्यो।
‘समस्या त भयो।’
मेरिना चुप लागिन्। त्यो हत्कडी अब उनलाई पनि असहज लागिरहेको थियो।
उनले वरिपरि हेरिन्। पानी खोज्नुपर्थ्यो। टापुको भित्री भागमा जानुपर्थ्यो। घाइते भएमा एकअर्काको सहयोग चाहिन्थ्यो।
त्यसपछि उनको मनमा अर्को विचार आयो— यदि आन्द्राइ भाग्यो भने?
तर अर्को प्रश्न पनि उठ्यो— भागेर जाने ठाउँ कहाँ छ?
चारैतिर समुद्र। नजिक कुनै जहाज छैन। उद्धार कहिले हुन्छ, थाहा छैन।
यदि उनी आफैँ घाइते भइन् भने?
यदि आन्द्राइ घाइते भयो भने?
हत्कडीमा बाँधिएको मानिसलाई सहयोगी बनाउन सकिँदैन।
उनले आन्द्राइलाई हेरिन्।
‘म तिमीलाई एउटा प्रश्न सोध्छु।’
‘सोध्नुहोस्।’
‘यदि मैले तिम्रो हत्कडी खोलिदिएँ भने तिमी भाग्छौ?’
आन्द्राइले समुद्रतिर हेर्यो।
‘कहाँ भाग्ने?’
‘मलाई थाहा छैन।’
‘मलाई पनि थाहा छैन।’
‘ममाथि आक्रमण गर्छौ?’
‘किन गर्ने?’
‘तिमीले मलाई दुश्मन ठान्छौ होला।’
‘अहिले पनि?’
मेरिना रोकिइन्।
‘अहिले पनि।’
आन्द्राइले गम्भीर हुँदै भन्यो— ‘यदि हामी अझै सोभियत शिविरमा हुन्थ्यौँ भने म कैदी र तपाईं मेरो कमान्डर हुनुहुन्थ्यो। यहाँ तपाईं पनि मजस्तै कैदी हुनुहुन्छ।’
मेरिनाको मनमा त्यो वाक्य गहिरो गरी बस्यो।
उनी पनि कैदी थिइन्।
टापुको।
परिस्थितिको।
आफ्नै कर्तव्यबोधको।
र वर्षौँदेखि मनमा बोकेको कठोर अनुशासनको पनि।
उनले कम्मरबाट चाबी निकालिन्। मेरिनाले हत्कडी समातिन्। उनको हात केही क्षण काँप्यो।
उनी आफूलाई सम्झाउँदै थिइन्— ‘तिमी सिपाही हौ।’
अर्को आवाज आयो— ‘तर सिपाही हुनुभन्दा पहिले तिमी मानिस हौ।’
उनले चाबी घुमाइन्।
क्लिक।
हत्कडी खुल्यो।
आन्द्राइले स्वतन्त्र भएका दुवै हात केही क्षण हेर्यो।
उसले न त भाग्ने प्रयास गर्यो, न हतारमा केही भन्यो।
केवल मेरिनातिर फर्केर भन्यो— ‘धेरै–धेरै धन्यवाद।’
मेरिनाले हत्कडी झोलामा राखिन्।
‘अब हामी दुवैलाई बाँच्नुपर्छ।’
‘कैदी भएर?’
‘होइन।’
‘सहयात्री भएर?’
मेरिनाले केही क्षण सोचिन्।
‘त्यो पनि होइन।’
‘त्यसो भए?’
‘अहिलेका लागि दुई जना मानिस, जो एउटै समस्यामा परेका छन्।’
आन्द्राइ मुस्कुरायो।
दुवै टापुको भित्री भागतिर लागे। घना झाडी काट्दै जाँदा आन्द्राइले एउटा ठाउँमा ओसिलो माटो देख्यो। उसले हातले खोतल्यो। केही तल चिसो माटो थियो।
‘यहाँ पानी हुन सक्छ।’
मेरिनाले वरिपरि हेर्न थालिन्। केही पर चराहरूको आवाज सुनियो।
‘चराहरू पानी भएको ठाउँनजिकै बस्छन्,’ उनले भनिन्।
दुवै त्यतातिर लागे।
केही समयपछि उनीहरूले एउटा सानो प्राकृतिक मुहान भेट्टाए। पानी धेरै थिएन, तर सफा थियो। दुवैको आँखामा पहिलोपटक आशाको चमक आयो। आन्द्राइले पानी पियो।
‘यो हाम्रो पहिलो विजय हो।’
मेरिना मुस्कुराइन्।
‘युद्धमा भन्दा ठूलो?’
‘अहिलेका लागि त हो।’
दुवैले तुम्लेटमा पानी भरे।
त्यसपछि टापुको अग्लो भाग खोज्न थाले। त्यहाँबाट समुद्रको ठूलो भाग देखिन्थ्यो। मेरिनाले केही सुक्खा काठ जम्मा गरिन्।
‘यदि कुनै जहाज आयो भने धुवाँ देखाउनुपर्छ।’
आन्द्राइले काठ मिलाउन थाल्यो।
काम गर्दै गर्दा उसले सोध्यो— ‘तपाईंले कहिल्यै सोच्नुभएको छ, युद्ध सकिएपछि तपाईं के गर्नुहुन्छ?’
मेरिनाको हात रोकियो।
‘पहिले युद्ध सकिनुपर्छ।’
‘युद्ध सकिएको धेरै भयो।’
‘मेरो लागि होइन।’
‘किन?’
मेरिनाले टाढा समुद्रतिर हेरिन्।
‘किनकि मैले धेरै मानिसहरू गुमाएकी छु।’
‘युद्धमा?’
‘हो।’
‘कति?’
‘गन्ती गर्न छोडिसकेँ।’
आन्द्राइले कुनै प्रश्न गरेन।
केही समयपछि मेरिना आफैँ बोलिन्।
‘पहिलोपटक मोर्चामा जाँदा मलाई लाग्थ्यो—सही र गलत छुट्याउन सजिलो हुन्छ। हाम्रो पक्ष सही, अर्को पक्ष गलत। आदेश पालना गर्नु नै सत्य हो। तर पछि बुझ्दै गएँ—बन्दुकको अर्को छेउमा पनि मानिस हुन्छ।’
‘मलाई लाग्छ, त्यसले तपाईंलाई मानिस बनायो।’
मेरिनाले उसलाई हेरिन्।
‘तिमी जासुस भएको भएर?’
आन्द्राइ हाँस्यो।
‘के कुनै नागरिक जर्मनको दासता स्वीकार्न सक्छ?’
मेरिनाले उसको अनुहार नियालिन्।
‘अनि?’
आन्द्राइले केही क्षण मौन बसेर भन्यो— ‘उनीहरूले सोभियत संघमा धेरै पैसा खर्च गरेका छन्।’
मेरिना मुस्कुराइनन्।
‘तिमी अझै त्यही प्रश्नमा अड्किएका छौ?’
‘हो।’
‘अनि तिमीलाई अझै विश्वास छैन?’
‘पूर्ण रूपमा छैन।’
‘ठीकै छ।’
‘किन?’
‘किनकि विश्वास मागेर पाइँदैन।’
मेरिना चुपचाप काठ मिलाउन थालिन्। तर उनको मनमा भने एउटा पुरानो पर्खाल भत्किँदै थियो।
दिनहरू बित्न थाले। उनीहरूले एउटा अस्थायी आश्रय बनाए। मुहानबाट पानी ल्याए। समुद्री बगरमा माछा समात्ने उपाय सिके। बगरमा धेरै कछुवाका अण्डाहरू फेला पारे। जहाजको भग्नावशेषबाट उपयोगी फलाम, डोरी र भाँडाहरू निकाले।
हरेक साँझ अग्लो स्थानमा धुवाँको संकेत बनाउँथे। तर कुनै जहाज आएन। समयको हिसाब हराउँदै गयो।
एक साँझ समुद्र असाध्यै शान्त थियो। आन्द्राइ बगरमा बसेर टाढा हेरिरहेको थियो। मेरिना उसको छेउमा आएर बसिन्।
‘के सोचिरहेका छौ?’
‘घर।’
‘कहाँ छ तिम्रो घर?’
‘युक्रेनतिर।’
‘परिवार?’
आन्द्राइले केही क्षण समुद्र हेर्यो।
‘थिए।’
‘थिए?’
‘युद्धले धेरै कुराको वर्तमानकाल खोसिदिन्छ।’
मेरिनाले त्यो वाक्य सुनेर आफ्नो विगत सम्झिन्।
‘मेरो पनि एउटा भाइ थियो।’
आन्द्राइले उनलाई हेर्यो।
‘थियो?’
उनले टाउको हल्लाइन्।
‘मस्कोको मोर्चामा।’
‘तपाईंले कहिल्यै उसको शव देख्नुभयो?’
‘देखिनँ।’
‘त्यसो भए?’
‘कहिलेकाहीँ शव नदेखिनु पनि मानिसलाई वर्षौँसम्म पर्खाइमा राख्ने सजाय रहेछ।’
आन्द्राइले केही भनेन।
यसपटक मौनता आवश्यक थियो।
मेरिनाले समुद्रतिर हेर्दै भनिन्— ‘सायद त्यसैले म अझै आदेशमा विश्वास गर्छु। आदेशले मलाई कमजोर हुन दिँदैन।’
आन्द्राइले बिस्तारै भन्यो— ‘हामी दुवैको पीडा समान रहेछ।’
त्यो क्षणमा उनीहरूले पहिलोपटक आफूहरूलाई शत्रुका रूपमा हेरेनन्। दुई घाइते मानिसका रूपमा हेरे। दुवैका घाउ शरीरमा मात्र थिएनन्।
एक बिहान समुद्रको क्षितिजमा कालो धब्बा देखियो।
‘जहाज!’ आन्द्राइ चिच्यायो।
मेरिना दौडिइन्।
दुवैले अग्लो ठाउँमा पुगेर सुक्खा काठमा आगो लगाए। धुवाँ आकाशतिर उठ्न थाल्यो।
जहाज नजिकिँदै थियो। मेरिनाको मुटु तीव्र गतिमा धड्किरहेको थियो। आन्द्राइले उनलाई हेर्यो।
‘हामी बच्यौँ।’
मेरिनाले केही भनिनन्।
जहाज नजिक आयो। त्यसमा सोभियत झण्डा फहराइरहेको थियो। मेरिनाको आँखामा चमक आयो। तर त्यही क्षण आन्द्राइको अनुहारमा डर देखियो। मेरिनाले त्यो देखिन्।
‘के भयो?’
‘अब फेरि म कैदी हुनेछु।’
मेरिनाले केही भनिनन्।
जहाज अझ नजिक आइरहेको थियो।
उनीसँग निर्णय गर्ने केही क्षण मात्र थिए।
आन्द्राइले सोध्यो— ‘अब तपाईंको कर्तव्य के हो?’
यो प्रश्नले उनलाई भित्रैदेखि हल्लाइदियो।
कर्तव्य। त्यही शब्द जसले वर्षौँदेखि उनको जीवन चलाएको थियो।
उनले आन्द्राइलाई हेरिन्। त्यसपछि आफ्नो झोलाबाट पुरानो हत्कडी निकालिन्।
आन्द्राइले हत्कडी देखेर एक कदम पछि हट्यो। तर मेरिनाले हत्कडी उसको हातमा लगाइनन्। उनले त्यो हातमै समातेर समुद्रतिर हेरिन्।
‘मेरो कर्तव्य सत्य पत्ता लगाउनु हो,’ उनले बिस्तारै भनिन्।
‘तर उनीहरूले तपाईंलाई आदेश दिनेछन्।’
‘म आदेश सुन्छु।’
‘अनि?’
‘तर अब म प्रश्न पनि गर्छु।’
आन्द्राइले उनलाई हेरिरह्यो।
जहाज किनारनजिक आइसकेको थियो।
‘मेरिनाजी,’ उसले पहिलोपटक उनको नाम सम्मानका साथ उच्चारण गर्यो, ‘तपाईंले मलाई फेरि कैदी बनाउनुहुन्छ?’
मेरिनाले उसको आँखामा हेर्दै भनिन्— ‘यदि तिमी दोषी छौ भने कानुनले निर्णय गर्नेछ।’
‘अनि यदि म निर्दोष भएँ?’
‘त्यसो भए मैले तिमीलाई स्वतन्त्र देख्नुपर्छ।’
आन्द्राइको आँखामा आश्चर्य थियो।
‘तपाईंलाई ममाथि विश्वास लाग्न थालेछ।’
मेरिना हल्का मुस्कुराइन्।
‘विश्वास अझै पूर्ण भएको छैन।’
‘त्यसो भए?’
उनले समुद्रतिर हेर्दै भनिन्— ‘तर अब शंका मात्रै बाँकी छैन।’
जहाज किनारमा आइपुग्यो। सिपाहीहरू ओर्लिए। एक अधिकारी मेरिनातिर दौडिए।
‘कमरेड कमान्डर! तपाईं जीवित हुनुहुन्छ!’
मेरिनाले टाउको हल्लाइन्।
‘हो।’
अधिकारीले आन्द्राइतिर हेरे।
‘यो को हो?’
मेरिनाले उत्तर दिइन्— ‘यही जहाजको बन्दी—आन्द्राइ।’
‘यसलाई हत्कडी लगाउनुहोस्।’
सिपाही अघि बढ्यो। मेरिनाले हात उठाएर रोकिइन्।
‘हतार नगर्नुस्।’
अधिकारी अचम्ममा परे।
‘किन?’
मेरिनाले समुद्रपारि टापुतिर हेरिन्।
त्यो निर्जन टापु, जसले उनीहरूलाई केही दिनअघि मृत्युको मुखमा भेटाएको थियो, अब विस्तारै टाढिँदै थियो।
उनले भनिन्— ‘पहिले यसको बयान लिनुपर्छ।’
‘आदेश त—’
‘आदेशभन्दा पहिले तथ्य।’
अधिकारी चुप भयो।
आन्द्राइले मेरिनातिर हेर्यो। उनीहरूबीच कुनै वाचा भएको थिएन। कुनै प्रेमको घोषणा पनि थिएन। तर दुवैलाई एउटा कुरा थाहा थियो— त्यो निर्जन टापुमा उनीहरूले केवल मृत्युबाट आफूलाई बचाएका थिएनन्। उनीहरूले आफूभित्र बनाएको एउटा पुरानो पर्खाल पनि भत्काएका थिए।
मेरिनाका लागि त्यो पर्खाल कर्तव्य र मानवताको बीचमा थियो। आन्द्राइका लागि त्यो पर्खाल शत्रु र मानिसबीच।
समुद्रले उनीहरूलाई छुट्याएको थियो। तर त्यही समुद्रले उनीहरूलाई एउटा सत्य सिकाएको थियो— युद्धले मानिसहरूलाई दुई पक्षमा बाँड्न सक्छ, तर मृत्युको अगाडि मानिसको पहिलो परिचय शत्रु वा मित्र होइन—मानिस हुनु हो।
जहाज अगाडि बढ्यो। टापु क्षितिजमा सानो हुँदै गयो। मेरिनाले अन्तिमपटक पछाडि फर्केर हेरिन्। उनलाई लाग्यो—त्यो टापु निर्जन थिएन। त्यहाँ उनीहरूको डर थियो। त्यहाँ उनीहरूको एक्लोपन थियो। त्यहाँ उनीहरूको विगत थियो। र त्यहीँ, एउटा हत्कडी खुलेको क्षणमा, उनीहरूको मानवता पनि जन्मिएको थियो।
सायद, उनीहरूको हृदयको कुनै गहिरो कुनामा प्रेमको एउटा सानो टुक्रा पनि त्यहीँ अल्झिएर बसेको थियो।