यही भदौ तेस्रो साता अविरल वर्षापछि सामान्य क्षति पुगेको धाप बाँधको उत्तरी पाखामाथिको सडक मर्मत पूरा भइसकेको छ। धाप बाँधमा जम्मा भएको पानी पनि करिब ४ मिटरले घटाइसकिएको छ।
तैपनि धाप बाँधदेखि उत्तरतिरको विशाल भिरको पुछारतिर रहेको हैबुङ र अझै तलबाट इन्द्रावतीतर्फ बग्ने सिन्धु खोला किनारका गाउँका मानिसको सन्त्रास हटिसकेको छैन।
'बाँधको पछाडिपट्टि सडक भासिन थाल्नेबित्तिकै मर्मत भएपछि बाँध क्षेत्र सुरक्षित भएको छ,' धाप बाँध उत्तरमा पर्ने मेलम्ची नगरपालिका–३ का वडा अध्यक्ष कुमार बन्जाराले भने, 'तत्कालै काम भएकाले हामी खुसी छौं। तैपनि धाप बाँध पछाडितिरबाट अझै ठूलो पहिरो जाला कि भनेर केही मानिस अझै डराइरहेका छन्।'
उनले थपे, 'उनीहरू भन्दैछन्, फुटिहाल्यो भने पनि धाप बाँधको पानी उत्तरी भेगमा आउनै नदिने गरी ठूला संरचना बनाएर हैबुङ र सिन्धु खोला क्षेत्रलाई सुरक्षित बनाइदिनुपर्यो। धाप बाँध र पछाडिका मानव बस्ती सुरक्षित बनाउने काम तत्कालै सुरू गरिहाल्नुपर्यो।'
रसुवाको विनाशकारी बाढीको दुई हप्तापछि धाप उत्तरको सडक थोरै भासिएको खबर फैलियो र 'धाप बाँध फुट्ने खतरा' शीर्षक राखिएका भ्रामक भिडिओहरू सामाजिक सञ्जालमा फैलिन थाले।
'त्यसरी एआई र अन्य प्रविधिको सहायताले बनाइएका झूटा भिडिओ फैलिएका कारण मानिसहरू धेरै नै डराए,' बन्जाराले भने, 'अहिले सडक मर्मत भएर बाँधको पानी घटाएर सुरक्षित भइसक्दा पनि केही मानिसहरू डराइ नै रहेका छन्।'
भदौको तेस्रो साता भरिएर १४ लाख घनमिटर पानी जम्मा भएको धाप सरोवर। पानी झन्डै आधाले घटाइएपछिको धाप। तस्बिर सौजन्य: उपदेश मरहट्टा
धाप बाँध उत्तरतिर झर्ने विशाल भिरदेखि केही सय मिटर तल बसोबास गर्ने हैबुङ र सिन्धु खोला किनारबासी चिन्तित हुनुपर्ने कारण प्रस्ट छ — शिवपुरीको सुन्दरीजल क्षेत्र उत्तरको नागमती उपत्यकामाथि पहाडको शिर नजिकै बनाइएको धाप बाँधको सरोवर समुद्र सतहदेखि करिब १,९०० मिटरको उचाइमा पहाडमाथि फैलिएको छ।
एसियाली विकास बैंक (एडिबी) को ५१ करोड रूपैयाँ ऋण सहयोगमा बनाइएको धाप बाँधको निर्माण करिब ४ वर्षअघि पूरा भएको थियो। यसको उद्देश्य धाप सरोवरको पानी वर्षैभरि थोरै थोरै छाडेर सुख्खा याममा बागमती नदीमा पानी पठाएर नदी क्षेत्रमा सफाइ र हरियाली बढाउनु हो।
धाप बाँधको सरोवर भरिँदा त्यसमा करिब १४ लाख घनमिटर पानी जम्मा हुन सक्छ। त्यो भनेको ५६० ओलिम्पिक साइज पौडी पोखरी बराबर पानी हो। दक्षिण बागमतीतिर २४ मिटर अग्लो बाँध बनाइएको धाप सरोवरको चौडाइ सबभन्दा फराकिलो भागमा पौने दुई सय मिटर छ।
पछाडि हैबुङ क्षेत्रपट्टि पानी झर्न नदिन र पानीलाई दक्षिणतिरको सरोवरमा जम्मा गर्न उत्तरतिर कम्तीमा तीन वटा अग्ला बाँधहरू बनाएर छेकिएको छ।
उत्तरतिरको सानो पहिरो
भदौ २४ गते साँझ चिरा परेको बाँध पछाडिको सडक भोलिपल्ट थोरै भासिएको थियो। त्यसपछि नालीको भेलको सुरक्षित निकास गरेर पहिरोको अस्थायी व्यवस्थापन गरिएको हो। तस्बिर सौजन्य: उपदेश मरहट्टा
तर भदौको चौथो साता अविरल वर्षा भएपछि भदौ २४ गते धाप बाँध उत्तरका तीनमध्ये बीचको बाँधदेखि उत्तरतर्फको सडकमा चिरा परेको देखियो।
त्यसको निरन्तर अनुगमन गरिरहेका सिँचाइ विभाग अन्तर्गतको धाप तथा नागमती बाँध परियोजनाका इन्जिनियर उपदेश मरहट्टाले भोलिपल्ट भदौ २५ गते साँझ सडकको उत्तरी किनार केही भासिएर पहिरो गएको देखे।
'लगत्तै हामीले वरिष्ठ प्राविधिकहरूसँग सल्लाह गरेर तत्कालै सडक किनारको भेलको निकास खोल्ने र सडक मर्मतको काम थालिहाल्यौं,' उनले भने।
मरहट्टाका अनुसार भदौको चौथो साता लगभग पूरै भरिएको धाप बाँधको उत्तरतिर भासिएको सडकको सानो हिस्साको मर्मत गर्ने काम सकिएपछि धाप बाँधको करिब १४ लाख घनमिटर पानी लगभग आधाले घटाउने कामसमेत सकिएको छ।
पानी बागमतीतर्फ बगाएर जोखिम कम गर्ने कामपछि धाप बाँधमा अहिले करिब ७ लाख घनमिटर जति पानी रहेको र बाँध क्षेत्र पूरै सुरक्षित बनिसकेको अधिकारीहरूले बताएका छन्। त्यसबारे सिँचाइ विभागले केही दिनअघि मिडियामार्फत औपचारिक जानकारी गराइसकेको छ।
'अब धाप बाँधमा कुनै जोखिम छैन, हरेक हिसाबले बाँध पूरै सुरक्षित भइसकेकाले कोही पनि आत्तिनुपर्दैन,' सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सेतोपाटीसँग भने, 'दसैंतिहार बिदालगत्तै हामी पहिरो गएको स्थान थप सुरक्षित बनाउने काममा लाग्छौं।'
बाँध अझै सुरक्षित बनाउने कसरी?
शिवपुरी निकुञ्जका पहाडबीच बनाइएको धाप बाँध भरिँदा १४ लाख घनमिटर पानी संकलन हुन्छ। बाँधको उत्तरतिर ठूलो भिरदेखि केही सय मिटर तल हैबुङ गाउँ र सिन्धु खोला किनारमा विभिन्न बस्ती छन्। तस्बिर: अर्थ गुगल
राजेन्द्र गुरूङ धाप बाँधको उत्तरतिरको गुरूङ गाउँका बासिन्दा हुन्। उनी धाप बाँधको उत्तरतिर हिमाल देखिने स्थानमा धाप कटेज एन्ड भ्यू प्वाइन्ट रेस्टुरेन्टका सञ्चालक हुन्।
उनको कटेज भदौ २५ मा पहिरो गएको सडकदेखि अलि परै छ। उनको गाउँ भने तल खोल्सामा पर्छ। आफन्त र साथीहरू तल हैबुङ र सिन्धु खोला किनारमा धेरै छन्।
उनले भने, 'भदौ २५ गते भासिएको सडक त अहिले बनिसक्यो, कुनै समस्या छैन। तर भविष्यमा ठूलो भूकम्प वा अन्य विपद आयो भने धापको पानीको भेल पछाडि गाउँतिर नझरोस् भनेर बलिया संरचनाहरू बनाउनुपर्ने देखिन्छ। त्यसो गर्यो भने मात्र हामी सबै ढुक्क हुन सक्छौं।'
सिँचाइ विभागका महानिर्देशक रजौरियाका अनुसार धापको उत्तरी भिरमा भविष्यमा जान सक्ने पहिरो रोकथामका साथै जोखिम घटाउन नयाँ संरचना निर्माणका लागि डिजाइन बनाउने काम सुरू भइसकेको छ।
'हामीले एक तहदेखि मुनि अर्को तहको रिटेनिङ वाल (पर्खाल) जस्ता संरचना बनाउनेबारे सोचिरहेका छौं। अहिले त्यसको विस्तृत ढाँचा (डिजाइन) तयार पार्ने काम सुरू भइसकेको छ।'
धाप तथा नागमती बाँध परियोजनाका पूर्व प्रमुख आशिषभद्र खनालका अनुसार बाँधका संरचना जमिनमा 'अति नै ठूलो' भूकम्प जाँदा पनि नभत्किने प्रविधि प्रयोग गरी बनाइएको छ।
'त्यसैले धाप बाँध फुटेर भेल बाढी आउन सक्छ भनेर आत्तिनुपर्ने अवस्था छैन,' उनले भने।
त्यस्तै प्रविधिलाई निरन्तरता दिँदै धापदेखि दक्षिणतर्फ नागमती बाँध र जलाशय बनाउने योजना सरकार र एसियाली विकास बैंक (एडिबी) को छ।
नागमती ड्याम निर्माणका लागि सुरूआती चरणका अध्ययनहरू ८ वर्षअघि पूरा भएका थिए। आउने दिनमा विस्तृत खाकालाई अन्तिम रूप दिने लगायत काम पूरा गर्दै ऋण सम्झौता र त्यसपछि आयोजना निर्माणको काम अघि बढाउने सरकारको योजना छ।
तर नागमती बाँधले सुन्दरीजल क्षेत्रमा जोखिम निम्त्याउन सक्छ भनी कतिपय विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
कारण यस्तो छ— करिब १६ अर्ब रूपैयाँ लागतमा निर्माण हुने नागमती बाँध ९४ मिटर अग्लो हुनेछ।
नागमती बाँधको सरोवरमा वर्षायाममा करिब १० लाख घनमिटर पानी संकलन हुनेछ। जुन धापभन्दा झन्डै ७ गुणा ठूलो हुनेछ।
विगत करिब ४ वर्षयता खासगरी चाडवाडका बेला बागमती र पशुपति क्षेत्र सफा राख्न प्रतिसेकेन्ड ४०० लिटरका दरले धाप सरोवरको पानी छोड्ने गरिएको छ।
नागमती बाँध बनेपछि बागमतीमा सुख्खा यामका ८ महिना हरेक दिन करिब ६०० लिटर प्रतिसेकेन्ड वा त्योभन्दा बढी मात्रामा पानी नदीमा छोड्ने योजना छ। तर विभिन्न वैज्ञानिक अध्ययनहरू बाँकी रहेकाले नागमती बाँधको अन्तिम खाका अझै पूरा भइसकेको छैन।
भदौ २५ गते धापको उत्तरतिर सडकमा सानो पहिरो खसेपछि धाप सरोवरमा जम्मा भएको झन्डै आधा परिमाण पानी दक्षिणतिरको निकासबाट नागमती हुँदै बागमतीमा बगाइएको थियो। तस्बिर सौजन्य: उपदेश मरहट्टा
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्।)
एक्सः @surendraphuyal