इरानसँगको युद्धमा अमेरिकी सेनाका कम्तीमा ८१ वटा विमान तथा हेलिकप्टर ध्वस्त वा क्षतिग्रस्त भएका छन्।
अमेरिकी संसद्को अनुसन्धान शाखा कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले यसै साता सार्वजनिक गरेको प्रतिवेदनमा युद्धका क्रममा अमेरिकी सेनाले बेहोरेको हवाई क्षतिको यस्तो विवरण उल्लेख गरिएको भनेर सिएनएनले जनाएको छ।
क्षतिग्रस्त वा ध्वस्त भएका ८१ वटा हवाई साधनमा लडाकू विमान, हेलिकप्टर र ड्रोन समावेश छन्। तीमध्ये आधाभन्दा बढी एमक्यू–९ ‘रिपर’ ड्रोन छन्।
रिपर ड्रोनलाई अमेरिकाले गुप्तचर संकलन, निगरानी तथा जासुसी, नजिकबाट हवाई सहयोग र युद्ध क्षेत्रमा खोज तथा उद्धारजस्ता अभियानमा प्रयोग गर्दै आएको छ।
अमेरिकी सेनाका महत्त्वपूर्ण र महँगा हवाई साधन पनि इरान युद्धमा क्षतिग्रस्त वा ध्वस्त भएको सीआरएसको प्रतिवेदनले देखाएको छ।
त्यसमा एफ–३५ए लडाकू विमान समेत छ। अमेरिकाको सबैभन्दा अत्याधुनिक लडाकु विमानमध्ये एक मानिने एफ–३५ए उच्च प्रविधियुक्त स्टेल्थ फाइटर हो।
त्यस्तै, ई–३ सेन्ट्री विमान पनि क्षतिग्रस्त वा ध्वस्त भएको सूचीमा छ। चार इन्जिन भएको यो विमानको माथिल्लो भागमा ठूलो राडार डोम हुन्छ। यसले हवाई क्षेत्रको निगरानी, लक्ष्य पहिचान तथा सैन्य अभियानमा विमानको समन्वय गर्न सहयोग गर्छ।
सिआरएसका अनुसार क्षतिग्रस्त वा ध्वस्त भएका हवाई साधन पुनःस्थापना वा प्रतिस्थापन गर्दा लाग्ने कुल खर्च १.९ अर्बदेखि ३.३ अर्ब डलरसम्म हुन सक्छ। यो अनुमान अमेरिकी रक्षा मन्त्रालयले कुन-कुन विमान पुनःनिर्माण गर्ने वा नयाँ विमानबाट प्रतिस्थापन गर्ने भन्ने योजनामा निर्भर हुनेछ।
तर विमानको क्षति इरान युद्धको कुल लागतको सानो हिस्सा मात्रै हो।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरण अनुसार इरान युद्धमा अमेरिकाको कुल खर्च कम्तीमा ४५ अर्ब डलर पुगिसकेको छ। यसमा मध्यपूर्वका अमेरिकी सैन्य अखडामा भएको पूर्वाधार क्षति भने समावेश छैन।
तीमध्ये केही सैन्य अखडामा अमेरिकी विमानसमेत क्षतिग्रस्त भएका थिए।
सीआरएसले उल्लेख गरेको ८१ वटा हवाई साधनमध्ये केही पुनः सञ्चालनमा आइसकेका हुन सक्छन्। उदाहरणका लागि, सेप्टेम्बरमा जोर्डनस्थित मुवाफ्फाक अल–सल्ती एयर बेसमा इरानले गरेको आक्रमणमा आठवटा एफ–१५ ‘स्ट्राइक इगल’ लडाकु विमानमा सामान्य क्षति पुगेको थियो।
तीमध्ये केही मर्मतपछि पुनः सञ्चालनमा आएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
सिआरएसले अमेरिकी रक्षा मन्त्रालय, त्यसको महानिरीक्षक कार्यालय, इरान विरूद्धका सैन्य कारबाही सञ्चालन गरिरहेको अमेरिकी सेन्ट्रल कमान्ड र विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणको समीक्षा गरी हवाई क्षतिको तथ्यांक तयार पारेको हो।
प्रतिवेदनले अमेरिकी संसद्ले इरान युद्धमा भएको सैन्य क्षतिबारे रक्षा मन्त्रालयबाट पर्याप्त जानकारी पाइरहेको छ कि छैन भन्ने प्रश्न पनि उठाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले अहिलेसम्म इरान युद्धमा भएको हवाई क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। सेप्टेम्बरमा सार्वजनिक भएको रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनले समेत केही विमान क्षतिको तथ्यांकका लागि यसअघिका सीआरएस प्रतिवेदनलाई स्रोत बनाएको थियो।
महानिरीक्षकको प्रतिवेदनले फेब्रुअरी २८ देखि जुन ३० सम्मको सैन्य कारबाही समेटेको थियो।
सिआरएसले अमेरिकी संसद्का लागि अन्य केही प्रश्न पनि उठाएको छ। क्षतिग्रस्त विमानको मर्मत वा ध्वस्त विमानको प्रतिस्थापनका लागि थप बजेट आवश्यक पर्छ कि पर्दैन भन्नेबारे निर्णय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, अमेरिकी रक्षा उद्योगसँग आवश्यक संख्यामा विमान तथा अन्य सैन्य सामग्री छिटो उत्पादन गरेर आपूर्ति गर्ने पर्याप्त क्षमता छ कि छैन भन्ने विषय पनि महत्त्वपूर्ण रहेको सिआरएसको निष्कर्ष छ।
युद्धमा अमेरिकी हवाई साधनको क्षतिले विदेशी साझेदार मुलुकलाई गरिने अमेरिकी हतियार बिक्रीमा पार्न सक्ने प्रभावबारे पनि संसद्ले विचार गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ।
यसका साथै इरान युद्धले मध्यपूर्व बाहेक विश्वका अन्य क्षेत्रमा अमेरिकी सेनाको रणनीतिक उपस्थिति र सैन्य क्षमता परिचालनमा कस्तो प्रभाव पारेको छ भन्ने प्रश्नसमेत सिआरएसले उठाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)