विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सम्पन्न भएको छ।
सोमबार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो। उक्त परीक्षण सफलतापूर्वक सम्पन्न भएको गृह मन्त्रालयले जनाएको छ।
परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणहरूमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना पठाइएको थियो।
सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्ताहरूलाई एकैपटक पूर्वसूचना सन्देश प्रवाह गर्न सकिन्छ। यसले विशेषगरी बाढीपहिरोजस्ता विपद्को समयमा नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
2G नेटवर्कमा प्रारम्भिक परीक्षण सफल भएसँगै आवश्यक थप प्राविधिक परीक्षण तथा तयारीपछि यस प्रणालीलाई बाढीको उच्च जोखिम रहेका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।