चिकित्सा शिक्षा आयोगले न्यूनतम पूर्वाधार र आवश्यक जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न मेडिकल कलेजमा सिट वृद्धि गरेको भन्दै डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरू गरेका छन्।
डा. केसीले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरू गरेको घोषणा गरेका हुन्।
अल्टिमेटमको थप समयावधिमा पनि सरकारले आफ्ना माग सम्बोधन नगरेपछि सत्याग्रह सुरू गर्नुपरेको उनले बताएका छन्।
डा. केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र प्राज्ञिक जनशक्तिबिनै एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको निर्णय खारेज गर्न माग गरेका छन्। त्यस्तै, मापदण्ड पूरा नगरी विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत खारेज गर्नुपर्ने उनको माग छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, व्यावसायिक अनुभव तथा सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने डा. केसीले बताएका छन्। उनले आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी छानबिन गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा भएपछि मात्रै शैक्षिक कार्यक्रम सुरू गर्नुपर्ने बताएका छन्।
सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने र निजी मेडिकल कलेजको स्वार्थमा छात्रवृत्ति कटौती गर्ने प्रयास रोक्नुपर्ने उनको माग छ।
डा. केसीले २०८३ साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन्।
उक्त सहमतिमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषय समेटिएका थिए। सहमति भएको झन्डै तीन महिना बितिसक्दा पनि कार्यान्वयन नभएको उनको भनाइ छ।
त्यस्तै, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अघि बढाउन तथा बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य सुरु गर्न उनले माग गरेका छन्।
डा. केसीले आफ्ना माग सम्बोधन नभए सत्याग्रहबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएका छन्।