भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भइरहेको डिएनए प्रोफाइलिङको काम ९० प्रतिशत सकिएको छ।
तर शवबाट संकलित डिएनए र बेपत्ता व्यक्तिका आफन्तले उपलब्ध गराएका नमूनाको मिलान तथा पहिचान गर्ने काम अझै बाँकी छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार डिएनए प्रोफाइलिङ अन्तिम चरणमा पुगेको छ। उक्त काम सकिएपछि नमूना मिलान र पहिचानको थप प्रक्रियाका लागि सम्बन्धित विशेषज्ञ टोलीलाई विवरण उपलब्ध गराइनेछ।
'डिएनए प्रोफाइलिङको ९० प्रतिशत काम सकिएको छ। अब छिट्टै बाँकी प्रक्रिया अघि बढ्छ,' काफ्लेले बताए।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका घटनासँग सम्बन्धित १ हजार ४५७ शवको नमूना संकलन गरिएको छ। तीमध्ये हालसम्म ११२ शवको मात्रै पहिचान खुलेको छ।
बाँकी १ हजार ३४५ शवको पहिचान हुन बाँकी छ।
बेपत्ता व्यक्तिको पहिचानका लागि उनीहरूका परिवार र आफन्तबाट करिब २ हजार जनाले डिएनए परीक्षणका लागि नमूना उपलब्ध गराएका छन्।
संकलित नमूनाको परीक्षण नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भइरहेको छ।
प्रोफाइलिङ सकिए पनि शव र आफन्तका नमूना मिलान गर्ने तथा नतिजा प्रमाणीकरण गर्ने प्रक्रिया पूरा नभएसम्म बेपत्ता व्यक्तिको पहिचान यकिन हुँदैन।
एक महिनाभित्र पहिचानको प्रक्रिया सक्ने निर्णय
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले प्रहरीका तर्फबाट प्रोफाइलिङ सकिएपछि डिएनए मिलान, शवको सनाखत र आफन्तलाई हस्तान्तरण गर्ने काम विशेषज्ञ टोलीले अघि बढाउने बताएका छन्।
असोजमा गठन गरिएको विपद पीडित पहिचानसम्बन्धी टोलीमा पाटन अस्पतालका फरेन्सिक प्याथोलोजिस्ट, त्रिवि शिक्षण अस्पतालका ओडोन्टोलोजिस्ट, विधि विज्ञान प्रयोगशाला, कानुन मन्त्रालय र नेपाल प्रहरीका प्रतिनिधि सहभागी छन्।
प्राधिकरणको समन्वयमा टोलीले शवबाट प्राप्त डिएनए र आफन्तका नमूना मिलान गर्ने, नतिजा पुष्टि गर्ने तथा पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउनेछ।
सोमबार बसेको कमान्ड पोस्टको बैठकले बाँकी डिएनए मिलान, शवको सनाखत र हस्तान्तरणसम्बन्धी प्रक्रिया एक महिनाभित्र पूरा गर्ने निर्णय गरेको केसीले जानकारी दिए।
'प्रोफाइलिङको काममा धेरै समय लाग्ने हो। बाँकी प्रक्रिया तुलनात्मक रूपमा छिटो हुन्छ,' उनले भने, 'म्याचिङ हुनासाथ विभिन्न ठाउँमा व्यवस्थापन गरेर राखिएका शव आफन्तलाई बुझाइन्छ।'
यद्यपि कुन परिवारले कहिले डिएनए परीक्षणको नतिजा पाउँछ भन्ने निश्चित मिति प्राधिकरणले दिएको छैन।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि शव तथा अवशेषबाट डिएनए परीक्षणका लागि नमूना संकलन गरेर प्रहरीको प्रयोगशाला पठाइसकेको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले अस्पतालमा आएका २५२ झोलामा रहेका अवशेषबाट नमूना संकलन गर्ने काम सकिएको बताए।
'हामीले नमूना संकलन गरेर पठाइसकेका छौं। डिएनए परीक्षणको काम नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले गर्छ,' उनले भने।
रिपोर्ट कुर्दाकुर्दै कुशको शव बनाएर अन्त्येष्टि
डिएनए परीक्षणको काम चलिरहँदा बेपत्ता व्यक्तिका परिवारको प्रतीक्षा भने लम्बिँदै गएको छ।
कतिपय परिवारले लामो समयसम्म आफन्तको अत्तोपत्तो नलागेपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिसकेका छन्।
धादिङको गंगाजमुना गाउँपालिकाका ५२ वर्षीय काले गुरूङका परिवारले पनि त्यसै गरेका छन्।
मानसरोवर यात्राबाट फर्किंदै गरेका कालेले भदौ १० गते बिहान साढे ७ बजेतिर छोरी सरितालाई फोन गरेर आफू रसुवा नाकामा आइपुगेको जानकारी दिएका थिए।
'बोर्डर क्रस गरेपछि फोन गर्छु,' उनले छोरीलाई भनेका थिए।
तर त्यसपछि फोन आएन।
परिवारले एक महिनासम्म खोजी गर्यो। न काले भेटिए, न उनको शव।
भदौ अन्तिम साता परिवारले डिएनए परीक्षणका लागि कालेकी आमाको रगतको नमूना पनि उपलब्ध गरायो। तर नतिजा आएन।
अन्ततः परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्यो
'हामीले एक महिनासम्म खोज्दा कतै भेटेनौं। डिएनए परीक्षणका लागि हजुरआमाको रगत पनि दिएका थियौं। रिपोर्ट आएन,' सरिताले भनिन्, 'गाउँका अरू आफन्तले पनि कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेपछि हामीले पनि त्यही गर्यौं।'
सरिताका अनुसार उनका बुबासँगै गाउँका आफन्तसहित ९२ जना मानसरोवर यात्रामा गएका थिए। तीमध्ये कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनीहरू चढेको गाडीसमेत फेला परेको छैन।
'सुरूमा हप्ता-दस दिनमा केही खबर आउला भनेर पर्खियौं। त्यसपछि एक-डेढ महिना बित्यो,' सरिताले भनिन्, 'अब जीवित भेटिँदैनन् भन्ने लागेपछि अन्तिम संस्कार गर्यौं।'
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का शेरसिंह घलेको परिवारले पनि छोरा फूर्वा छोवाङ घलेको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेको छ।
२४ वर्षीय फूर्वा सवारी चालक थिए। भदौ ८ गते सामान लिन गएका उनले भदौ १० गते फर्किन लागेको जानकारी गराएका थिए।
त्यसपछि उनी सम्पर्कविहीन भए।
शेरसिंहले डेढ महिनासम्म छोरा फर्किने आस गरे। दिनहुँ शव भेटिएका समाचार आउँदा छोरा जीवित नभए कम्तीमा शव मात्रै भेटिए पनि हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो।
तर शव पनि भेटिएन।
'डेढ महिनासम्म खोज्दा पनि कतै लास नभेटिएपछि आस मारेर कुशको शव बनाएर अन्त्येष्टि गर्यौं,' शेरसिंहले भने, 'प्रहरीले रगत लिएको छ। तर कहिले रिपोर्ट आउँछ भनेनन्। कति समय पर्खिने भनेर अन्त्येष्टि गर्यौं।'
सिन्धुपाल्चोकको बाह्रबिसेका राजकुमार श्रेष्ठको परिवारले पनि दसैंअघिसम्म उनी घर फर्किने आस गरेको थियो।
तर राजकुमार फर्किएनन्।
उनका आफन्त राजन श्रेष्ठका अनुसार भेटिएका शवमध्ये राजकुमारको पहिचान हुन नसकेपछि परिवारले डिएनए परीक्षणका लागि नमूना दिएको थियो।
त्यसको नतिजा आउने समय निश्चित नभएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनले बताए।
यसरी कतिपय परिवारले आफन्तको शव नभेट्दै अन्त्येष्टि गरिसकेका छन् भने कतिपय अझै परीक्षणको नतिजा पर्खिरहेका छन्।
दुई महिनादेखि बेपत्ता आफन्तको अवस्था यकिन हुन नसकेका परिवारका लागि अझै एउटै प्रश्न अनुत्तरित छ — डिएनए परीक्षणको रिपोर्ट कहिले आउँछ?
***