अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अमेरिकासँगको सम्बन्धमा बढ्दो तनावका बीच युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा गर्दै आएको ड्रोन आक्रमण तत्कालका लागि रोकेको छ।
गत साताको सुरुदेखि नै रुसी तेल प्रशोधन केन्द्रलाई लक्षित आक्रमण रोकिएको भनेर युक्रेनी सैन्य कारबाहीबारे जानकार अधिकारीहरूको हवाला दिंदै द वाल स्ट्रिट जर्नलले लेखेको छ।
यो अनौपचारिक रोक अमेरिकी संसदीय निर्वाचनपछि अर्थात् नोभेम्बरसम्म कायम रहन सक्ने उनीहरूको भनाइ छ।
युक्रेनले आक्रमण रोक्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरेको छैन।
तर अमेरिकी दबाब र रुससँग जारी कूटनीतिक प्रयासका कारण युक्रेनले आफ्नो सैन्य रणनीतिमा केही परिवर्तन गरेको देखिन्छ।
यसअघि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पदबाट हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए।
त्यस्तै अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवामा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको थियो।
युक्रेनी सैन्य अधिकारीहरूका अनुसार अक्टोबरको मध्यतिर लामो दूरीका आक्रमणमा संलग्न सैन्य इकाइलाई तेल प्रशोधन केन्द्र विरुद्धको अभियान रोक्न निर्देशन दिइएको थियो। त्यसअघि नै सुरु भइसकेका कारबाही भने पूरा गर्न भनिएको थियो।
युक्रेनका रक्षामन्त्री एभगेनी खमाराले कूटनीतिक परिस्थिति संवेदनशील भएकाले रुसी तेल केन्द्रमा आक्रमण रोक्नु उपयुक्त हुने धारणा जेलेन्स्की समक्ष राखेका थिए।
जेलेन्स्कीले त्यसमा सहमति जनाए पनि आवश्यक ठानेमा पुनः आक्रमण गर्न सेनालाई स्वतन्त्रता रहेको बताएका थिए।
‘हाम्रा सैनिकले पछिल्ला दिनमा केही सावधानी अपनाउने प्रयास गरेका छन्। तर तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्नू भन्ने आदेश दिइएको छैन,’ जेलेन्स्कीले मंगलबार किभमा पत्रकारहरूसँग भने।
ट्रम्प सरकारले पछिल्ला सातामा रुसी तेल केन्द्रमा आक्रमण रोक्न युक्रेनमाथि दबाब बढाएको थियो। अमेरिकामा इन्धनको मूल्य बढ्नुमा युक्रेनका आक्रमण जिम्मेवार रहेको ट्रम्पको आरोप थियो।
यद्यपि ऊर्जा क्षेत्रका विज्ञहरूले विश्व बजारमा इन्धनको मूल्यवृद्धिको मुख्य कारण ट्रम्पले विना कारण शुरू गरेको अमेरिका–इरान युद्धलाई मानेका छन्।
अमेरिकी विशेष दूत जारेड कुशनरले अक्टोबर २० मा ओस्लोमा जेलेन्स्कीसँग भएको भेटमा रुसी तेल केन्द्रमा आक्रमण ३० दिन रोक्न आग्रह गरेका थिए। अमेरिकी अधिकारीका अनुसार उनले रुससँग वार्ताका लागि अमेरिकाले गरिरहेको प्रयासप्रति कृतज्ञता देखाउने अवसरका रूपमा आक्रमण रोक्नुपर्ने बताएका थिए।
युक्रेनले भने आक्रमण रोक्नुअघि बदलामा सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको थियो। जेलेन्स्कीले रुस र युक्रेन दुवैले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यस बाहेक आफ्ना ऊर्जा केन्द्रको सुरक्षाका लागि प्याट्रियट क्षेप्यास्त्र वा रुसभित्र ड्रोन सञ्चालन गर्न स्टारलिंकको पहुँच उपलब्ध गराउनुपर्ने विकल्प पनि अघि सारेका थिए। तर यी प्रस्तावमा ठोस प्रगति हुन सकेन।
अक्टोबर २० मा रुसको ताम्बोभ क्षेत्रमा रहेको ड्रुजबा तेल पाइपलाइनको पम्पिङ स्टेसनमा युक्रेनले आक्रमण गरेको थियो। त्यसयता रुसी तेल पूर्वाधारमा अर्को आक्रमण भएको छैन।
युक्रेनले रुसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनुको उद्देश्य रुसको युद्ध आम्दानी घटाउनु हो। तेल निर्यातबाट प्राप्त हुने रकमले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले युक्रेन विरुद्धको युद्ध सञ्चालन गरिरहेको किभको बुझाइ छ।
यसबीच स्टारलिंक सेवामा लगाइएको प्रतिबन्धले युक्रेनी सेनाको ड्रोन कारबाही र रुसी ड्रोन रोक्ने प्रतिरक्षा प्रणाली समेत प्रभावित भएको थियो। अक्टोबर २४ मा ट्रम्पले मस्कलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गरेपछि पूर्ण सेवा बहाल भएको थियो।
अमेरिकी अधिकारीहरूले स्टारलिंक सेवा पुनः सञ्चालन र रुसी तेल केन्द्रमा आक्रमण रोक्ने विषयबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। तर युक्रेनी अधिकारीहरूले अमेरिकाको दबाबका कारण दुवै विषय एकअर्कासँग जोडिएको बताएका छन्।
अमेरिकामाथिको निर्भरता र ट्रम्पको बदलिँदो नीतिले युक्रेनमा अमेरिकी समर्थनप्रतिको विश्वाससमेत कमजोर बनाएको छ। अमेरिकी गुप्तचर सूचना, स्टारलिंक र प्याट्रियट क्षेप्यास्त्रमा निर्भर युक्रेनका लागि अमेरिकासँगको सम्बन्ध बिग्रनु गम्भीर सुरक्षा चुनौती बनेको छ।
अमेरिकी सरकारले रुसलाई बढी अनुकूल व्यवहार गरेको युक्रेनभित्र आलोचना भइरहेको छ। पूर्वी मोर्चामा खटिएको एक युक्रेनी सैन्य बटालियनले पछिल्ला दुई सातामा आफ्ना शिविरबाट अमेरिकी झण्डा र अन्य अमेरिकी चिह्नसमेत हटाएको एक कमान्डरले बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)