काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ।
रातभरि रोकिँदै र फेरि पर्दै गरेको झरीले शुक्रबार बिहानसम्म पनि विश्राम लिएको छैन। काठमाडौं उपत्यकासहित पूर्वी नेपालका धेरै ठाउँमा रातभरि पानी परेको छ।
अब दिउँसोपछि यो वर्षा अझ फैलिने र राति पूर्वी नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
बंगालको खाडीमा विकसित भएर भारतको पूर्वी तट हुँदै जमिनमा प्रवेश गरेको चक्रवात ‘अर्नब’ अहिले कमजोर भइसकेको छ।
तर त्यसको प्रभाव भने नेपालमा देखिन थालेको छ। चक्रवातको अवशेष प्रणाली नेपाल नजिकै भारतीय भूभागमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ।
यही प्रणालीको प्रभावले बिहीबार रातिदेखि नेपालका विभिन्न ठाउँमा वर्षा भइरहेको हो।
शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश भूभाग र पूर्वको कोशी प्रदेशसम्म वर्षा भएको छ।
रातभरि परेको पानीको मात्रा हेर्दा काभ्रेको रोशीमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा पनि १८ देखि २६ मिलिमिटरसम्म पानी परेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा मध्यरातपछि वर्षा सुरु भएको थियो। कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पनि छिटपुटदेखि हल्का वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले नेपालमा परिरहेको वर्षा चक्रवात ‘अर्नब’को अवशेष प्रणालीको प्रभाव हो।
चक्रवात समुद्रमा रहँदा शक्तिशाली हुने भए पनि जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान्छ। अर्नब पनि चक्रवातबाट कमजोर हुँदै न्यूनचापीय क्षेत्रका रूपमा परिणत भएको छ।
तर प्रणाली कमजोर हुँदैमा त्यसको प्रभाव तत्कालै सकिने होइन। बरु यो प्रणाली नेपाल नजिकिँदै गर्दा वर्षाको मात्रा बढ्ने देखिएको दाहालले बताए।
‘आज दिउँसोबाट वर्षा बिस्तारै बढ्दै जाने देखिन्छ। अपराह्न वा साँझतिरबाट पानी पर्ने क्रम अझ फैलिन्छ। बीचमा केही समय रोकिएजस्तो भए पनि वर्षा भइरहने सम्भावना छ,’ उनले भने।
मौसमविद दाहालका अनुसार आज रातिदेखि भोलि दिउँसोसम्म वर्षा अझ बढ्नेछ।
अहिले भइरहेको जस्तो एकनासको झरीभन्दा राति र भोलि बिहान पानी पर्ने क्रम केही तीव्र हुन सक्छ। काठमाडौं उपत्यकामा पनि आज राति दिउँसोको तुलनामा बढी पानी पर्ने सम्भावना छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि वर्षाको प्रभाव पूर्वी नेपालमा बढी पनि बताएका छन्।
पोखरेलले आज दिनभरि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेका छन्। तर अपराह्न वा साँझपछि नेपालको पूर्वी आधा भागमा वर्षाको मात्रा बढ्न सक्ने उनको भनाइ छ।
‘अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षाको सम्भावना छ। विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले बढी सजग रहनुपर्ने देखिन्छ,’ उनले भने।
पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि पश्चिम नेपालमा भने ठूलो पानी पर्ने संकेत नरहेको पोखरेलले बताए।
पश्चिमका केही ठाउँमा वर्षा भए पनि मुख्यतः हल्कै हुने देखिएको छ।
मौसमविद् दाहालका अनुसार शनिबार रातिदेखि भने वर्षाको क्रम बिस्तारै घट्दै जानेछ। आइतबार बिहानबाट वर्षा धेरै कम हुने अपेक्षा गरिएको छ।