व्यवसायी तथा टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ।
बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्लाकै आदेश सदर गरेको हो।
अधिकारीलाई इन्टरपोलको सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीविरूद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले जेठ २१ गते अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरूद्ध अधिकारीले आफूलाई थुनामा पठाउने निर्णय बदर गरी थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्।
उच्च अदालतले जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो।
यससँगै अधिकारीले मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामै रहेर मुद्दाको प्रतिरक्षा गर्नुपर्ने भएको छ।
अधिकारीविरूद्ध २१ करोड १२ लाख २० हजार ४०६ रूपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ।
उनीमाथि आपराधिक लाभ लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको अभियोग छ।
यी अभियोगको अन्तिम निरूपण भने अदालतबाट हुन बाँकी छ।