पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
बानेश्वरस्थित नेपाल प्रेस अनलाइनको कार्यालयबाट प्रहरीले सुवेदीलाई पक्राउ गरेको प्रधान सम्पादक मात्रिका पौडेलले जानकारी दिए।
पौडेलका अनुसार अपराध अनुसन्धान महाशाखाबाट आएका दुई जना सादा पोशाकका प्रहरीले सुवेदीलाई पक्राउ गरेका हुन्।
'सरले बोलाउनुभएको छ भनेर विश्वमणिजीलाई समाचार कक्षबाट लिएर गएछन्,' पौडेलले भने, 'विश्वमणिजी नेपाल प्रेसको राइटर/कन्ट्रिब्युटर हो।'
उनले विश्वमणिलाई साइबर ब्यूरो लगिएको र आफू पनि अहिले साइबर ब्यूरी जान लागेको बताए।
पौडेलका अनुसार नेपाल प्रेस अनलाइन सञ्चालन गर्ने कम्पनी नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष विन्दुराज लम्साललाई पनि प्रहरीले साइबर ब्यूरो बोलाएको छ।
'समाचारको विषय प्रधान सम्पादकलाई सोध्ने हो,' पौडेलले भने, 'अध्यक्षलाई समेत साइबर ब्यूरो बोलाइएको रहेछ।'
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई साइबर ब्युरोमा बुझाउने तयारी गरिएको छ।
साइबर ब्युरोका प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले सुवेदीलाई आइजिपी दानबहादुर कार्कीको समाचार लेखेको विषयलाई लिएर छलफलका लागि नियन्त्रणमा लिइएको दाबी गरे।
‘आइजी'साबसँगको विषय एउटा भयो। अर्को शान्ति सुरक्षासँग पनि सम्बन्धित भएकाले उहाँलाई के हो भनेर छलफलका लागि ल्याएका छौं,’ उनले भने।
फोन सम्पर्क गर्दा आउन सक्ने अवस्थामा पनि प्रहरी न्यूजरूम भित्रैबाट किन पक्राउ गरियो भन्ने प्रश्नमा उनले भने, ‘अपराध अनुसन्धान कार्यालय पुगेको हो, यस विषयमा थाहा भएन।’
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने साइबर ब्युरोले उपस्थित गराइदिन भनेपछि बुझाउने तयारी गरिएको बताए।
‘साइबर ब्युरोको अनुरोधमा उपस्थित गराइदिनुपर्यो भनेर हो,’ उनले भने।
छलफलका लागि उपस्थित गराउँदा पनि न्युजरूमबाटै किन पक्राउ गरियो भन्ने प्रश्नमा उनले भने, ‘अनुरोध गरेको होलान् पहिले।’