दियो पोष्ट डट कमको कार्यालयमा पुगेर प्रहरीले प्रधान सम्पादक सुदिप विश्वकर्मा र सम्पादक रिता बुढाथोकीको खोजी गरेको छ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको टोली काठमाडौंको अनामनगरमा पुगेको हो।
उनीहरू कार्यालयको प्रांगणमा पुगेको समाचार संयोजक मदन ढुंगानाले जानकारी दिए।
अहिले प्रहरीले पत्रकारको मोबाइल नियन्त्रणमा लिएर हेर्ने काम गरिरहेको छ।
‘म, प्रधान सम्पादक र सम्पादक बाहिर छौं। अफिसमा चार जना प्रहरीको टोली आएको र साथीहरूको मोबाइल हेरिरहेको भनेर भन्नुभएको छ,’ उनले भने।
यसअघि प्रधान सम्पादक विश्वकर्मा र आफूलाई फोन गरी ‘तपाईंको ठेगाना के हो’ भनेर शंकास्पद व्यक्तिले फोन गरेको सम्पादक बुढाथोकीले जानकारी दिइन्।
प्रहरीले नेपाल प्रेस डट कमका विश्वमणि सुवेदीलाई पनि कार्यकक्ष भित्रैबाट पक्राउ गरी लगेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी साइबर ब्युरो बुझाएको हो।
त्यस्तै, प्रहरीको टोली नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पनि खोज्दै कार्यालयमा पुगेको छ।