काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ECMO- इक्मो) सेवा सञ्चालनमा ल्याएको छ।
इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (ARDS) बाट पीडित ४३ वर्षीय पुरूष बिरामी इक्मो सहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिरामीको उपचारमा सिभिल अस्पतालका सघन उपचार सेवाका प्रमुख डा. प्रदीप तिवारी सहित सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन (सिटिभिएस) डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारी लगायतका चिकित्सक र नर्सिङ स्टाफहरू संलग्न थिए।
सिभिल अस्पतालका आइसीयू विभाग प्रमुख डा. प्रदीप तिवारीका. अनुसार इक्मो एक अत्याधुनिक जीवनरक्षक प्रणाली हो। यसले मुटु र फोक्सोमा गम्भीर समस्या भएका बिरामीको फोक्सोको काम र आवश्यकता अनुसार मुटुको अस्थायी रूपमा काम गर्छ। इक्मोले शरीरबाट रगतबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थप्छ र कार्बन डाइअक्साइड हटाएर प्रशोधित रगत पुन: शरीरमा पठाउँछ।
'सामान्य रूपमा भन्नुपर्दा भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा देखिएको गम्भीर प्रकारको संक्रमणको उपचारका लागि उहाँको फोक्सोलाई आराम दिन विशेष प्रकारको इक्मो मेसिनको सहायता आवश्यक परेको थियो,' उनले भने, 'उहाँलाई इक्मो मेसिनमा जोडिएको थियो। इक्मो मेसिनमा जोडिएपछि उहाँको फोक्सोलाई मेसिनले सपोर्ट गर्न थालेको थियो।'
उनलाई ११ दिन इक्मोको सहायता तथा १४ दिन भेन्टिलेटरको सहायतामा उपचार गरी असोज १७ गते सघन उपचार कक्ष (आइसियू) बाट डिस्चार्ज गरी घर पठाइएको छ।
उपचारमा संलग्न इक्मो स्पेसलिस्ट तथा क्रिलिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार इक्मो प्रणाली एआरडीएस, पलमोनरी इम्बोलिजम, गम्भीर हृदयघात र मुटु फोक्सो प्रत्यारोपण जस्ता रोगहरूमा प्रयोग गरिन्छ।
यस उपलब्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको इक्मो रिट्रिभल सेवा हो।
इक्मो रिट्रिभलमा इक्मो आवश्यकता रहेका गम्भीर बिरामी उपचाररत अस्पतालसम्मै विशेषज्ञ टोली आवश्यक उपकरणका साथ पुगी उपयुक्त अवस्थामा उपचार सुरू गर्ने तथा आवश्यकताअनुसार बिरामीलाई इक्मो सेवा उपलब्ध केन्द्रसम्म सुरक्षित रूपमा ल्याउने प्रक्रिया हो।
गम्भीर प्रकारको भाइरल संक्रमणका कारण फोक्सोले राम्रोसँग काम गर्न नसक्ने भएपछि उनलाई मनमोहन मेमोरियल मेडिकल कलेजको सघन उपचारमा कक्षमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। भेन्टिलेटरको सहायतामा मात्रै राखेर उनको उपचार गर्न असम्भव भएपछि इक्मोको सहायता आवश्यक पर्ने ठहर भयो। त्यसपछि सिभिल अस्पतालका सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारी नेतृत्वको टोलीले मनमोहन अस्पतालमा नै पुगेर उनलाई इक्मो सहायता दिएर सिभिल अस्पतालको सघन उपचार कक्षमा स्थानन्तरण गरिएको थियो।
बिरामीको उपचारमा सिभिल अस्पतालका सघन उपचार सेवाका प्रमुख डा. प्रदीप तिवारीसहित सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. बिरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन (सीटीभीएस) डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारी लगायतका चिकित्सक र नर्सिङ स्टाफहरू संलग्न थिए।