दाँतमा समस्या देखिएपछि मात्र दन्त चिकित्सककहाँ जाने बानी धेरैमा हुन्छ। दाँत दुख्ने, सिरिङसिरिङ हुने वा अन्य समस्या देखिएपछि मात्रै उपचार खोज्ने गरिन्छ। तर दाँतको समस्या भने बच्चाको दुधे दाँत आउन थालेदेखि नै सुरु हुन सक्ने दन्त चिकित्सक डा. किरण मेहता बताउँछिन्।
उनका अनुसार हामीले खाने खानेकुरा, विशेषगरी कार्बोहाइड्रेट र गुलियो पदार्थका कारण मुखमा रहेका ब्याक्टेरिया र र्यालको संयोजनबाट दाँतमा लेउजस्तो तह बन्छ। यसलाई प्लाक भनिन्छ। समयमै सफा नगरे प्लाक कडा हुँदै क्याल्कुलस (दाँतमा जम्ने ढुंगाजस्तो फोहोर) बन्छ। यसले गिजा, हड्डी र दाँतमा समस्या निम्त्याउन सक्छ।
दुधे दाँत आएदेखि नै यसको हेरचाह गर्नुपर्ने डा. मेहता बताउँछिन्। बच्चाले खानेकुरा खाएपछि वा स्तनपान गरेपछि मुख सफा नगर्दा पनि दाँतमा प्लाक जमेर कीरा लाग्न सक्छ। त्यसैले दुधे दाँतमा समस्या हुँदैन भन्ने सोचाइ गलत भएको उनको भनाइ छ।
'दाँत साटिने समयमा पनि विशेष ध्यान दिनुपर्छ। प्रत्येक दाँत उम्रिने र साटिने निश्चित जैविक समय हुन्छ। उक्त समयमा नियमित परीक्षण नगर्दा दाँत सही ठाउँमा नआएर बाङ्गोटिङ्गो उम्रिन सक्छ। यसले दाँत नमिल्ने र भीडभाड हुने (क्राउडिङ) समस्या निम्त्याउन सक्छ।'उनले भनिन्'दाँतमा समस्या आउन नदिन छ–छ महिनामा दन्त चिकित्सककहाँ गएर परीक्षण गराउनुपर्छ। यसो गर्दा समस्या सुरुवाती अवस्थामै पत्ता लगाउन र उपचार गर्न सकिन्छ। समस्या बढेर दाँतमा ठूलो प्वाल पर्ने वा आरसीटी गर्नुपर्ने अवस्थासम्म पुग्नबाट बच्न सकिन्छ।'
दाँत सफा गर्दा हल्लिन्छ वा सिरिङसिरिङ हुन्छ भन्ने डरले पनि धेरैले स्केलिङ गराउन चाहँदैनन्। तर दाँत सफा गर्दा दाँत हल्लिने नभई पहिलेदेखि गिजा र हड्डीमा समस्या गरिरहेको जमेको फोहोर हट्ने उनी बताउँछिन्।
दाँतमा कडा फोहोर जम्दा गिजा सर्दै जाने र दाँतको जरा खुल्ने भएकाले स्केलिङपछि केही समय सिरिङसिरिङ हुन सक्छ। त्यस्तै, फोहोर हटेपछि केही समय दाँत हल्लिएको जस्तो महसुस हुन सक्छ। तर दाँत सफा गरेकै कारण दाँत हल्लिने होइन। बरू दाँतमा जमेको फोहोर हटाउँदा दाँत र गिजा स्वस्थ राख्न मद्धत पुग्छ।
दाँतमा कीरा लाग्दैमा सबै अवस्थामा आरसीटी गर्नुपर्दैन। दाँतमा बाहिरबाट देखिने पहिलो तह इनामेल, दोस्रो तह डेन्टिन र भित्री तह डेन्टल पल्प हुन्छ। पल्पमा नसा र रक्तनली हुन्छन्। कीरा पहिलो र दोस्रो तहमा मात्रै सीमित छ भने सामान्य फिलिङ गरेर दाँत जोगाउन सकिन्छ। तर संक्रमण नसासम्म पुगेको अवस्थामा आरसीटी गर्नुपर्ने हुन्छ। संक्रमण कहाँसम्म पुगेको छ भन्ने कुरा एक्सरेबाट पत्ता लगाएर उपचार गरिने उनको भनाई छ।
'स्केलिङ कति समयमा गर्ने भन्ने कुरा पनि व्यक्तिको दाँतको अवस्था र स्वास्थ्यमा निर्भर हुन्छ। सामान्यतया छ–छ महिनामा स्केलिङ गर्न सकिन्छ।'उनी भन्छिन्'तर कसैको मुखको सरसफाइ र स्वास्थ्य अवस्था हेरेर छ महिनादेखि एक वर्षभित्र गर्नुपर्ने हुन सक्छ। यसका लागि निश्चित उमेर तोकिएको छैन।'
धेरैले गर्ने अर्को गल्ती भनेको दाँत माझ्ने गलत तरिका हो। हतारमा छिटोछिटो दाँत माझ्दा राम्रोसँग सफा हुँदैन।
'दिनमा बिहान र बेलुका कम्तीमा दुई–दुई मिनेट दाँत माझ्नुपर्छ। गिजा र दाँतको जोडिने भागमा करिब ४५ डिग्रीको कोण बनाएर ब्रस राख्दै हल्का हातले सफा गर्नुपर्छ,' उनले भनिन्, 'दाँतको बाहिरी र भित्री भागसँगै खाना चपाउने सतह पनि सफा गर्नुपर्छ। जिब्रो सफा गर्न पनि बिर्सनु हुँदैन।'
ब्रस गर्दा सफ्ट वा मिडियम ब्रस प्रयोग गर्नुपर्छ। कडा ब्रसले जोड लगाएर दाँत माझ्दा इनामेलको तह खिइन सक्छ। ब्रस सामान्यतया तीनदेखि छ महिनामा परिवर्तन गर्नुपर्छ। तर ब्रसका रेसा बिग्रिएमा त्योभन्दा अगाडि नै फेर्नुपर्छ।
खाना खाएलगत्तै ब्रस गर्नु पनि राम्रो हुँदैन। खाना खाएपछि मुखमा एसिडिक वातावरण बन्ने भएकाले त्यसलगत्तै ब्रस गर्दा इनामेल कमजोर हुन सक्छ। त्यसैले खाना खाएको आधादेखि ४५ मिनेटपछि ब्रस गर्नुपर्छ। दाँतको बीचमा अड्किने फोहोर हटाउन नियमित फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
त्यस्तै, बुद्धिबङ्गारा उम्रिने क्रममा पर्याप्त ठाउँ नहुँदा आधा मात्रै बाहिर आउने र बाँकी भाग गिजाले छोपिने हुन सक्छ। यस्तो अवस्थामा दाँत र गिजाको बीचमा खानेकुरा अड्किएर संक्रमण हुन सक्छ। गिजा सुन्निने, दुख्ने र पटक–पटक समस्या दोहोरिने भए बुद्धिबङ्गारा निकाल्नुपर्ने हुन सक्छ। तर समस्या नदिएको अवस्थामा निकाल्न आवश्यक नहुने उनी बताउँछन्।
दाँत दुख्दा ल्वाङको तेल लगाउने, नुनले दाँत माझ्ने जस्ता घरेलु उपाय अपनाउने गरेको पनि पाइन्छ। तर यस्ता उपायले दाँतको समस्या समाधान नगर्ने डा. मेहताको भनाइ छ। दाँतमा समस्या आइसकेपछि घरेलु उपचारको सट्टा दन्त चिकित्सककहाँ गएर आवश्यक उपचार गराउनुपर्छ।
दाँत स्वस्थ राख्न बिहान–बेलुका दुई मिनेट ब्रस गर्ने, नियमित फ्लस गर्ने र छ–छ महिनामा दन्त चिकित्सककहाँ परीक्षण गराउने उनको सुझाव छ।