संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा ट्रक अनियन्त्रित भएर २३ वटा गाडी एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ३० जना घाइते भएका छन्।
यूएईको आन्तरिक मन्त्रालयका अनुसार पूर्वी इमिरेट फुजैराहको प्रवेशद्वारनजिक बिहीबार मध्यरातअघि दुर्घटना भएको हो। ढिलो गतिमा चलिरहेका सवारीसाधनको भीडमा एउटा ट्रक अनियन्त्रित भएर अन्य गाडीमा ठोक्किएको थियो।
दुर्घटनामा पाँच वटा ट्रकसहित २३ वटा गाडी संलग्न थिए। ठक्करपछि ट्रक पल्टिएर आगलागी भएको थियो। आगो अन्य गाडीमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ।
फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ। घाइतेमध्ये आधा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकीको उपचार भइरहेको छ।
मृत्यु भएकाहरूको पहिचानका लागि डिएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मृतकमध्ये केही यूएईका नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ।
यूएईस्थित भारतीय वाणिज्य दूतावासले आफ्ना नागरिकको पनि दुर्घटनामा मृत्यु भएको जनाएको छ। दूतावासले मृतकका परिवारसँग सम्पर्क गरी स्थानीय अधिकारीहरूसँगको समन्वयमा आवश्यक सहयोग गरिरहेको बताएको छ।
अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते हुनेहरू यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक छन्।
दुर्घटनापछि प्रहरी, एम्बुलेन्स तथा नागरिक सुरक्षा टोली घटनास्थल पुगेका थिए। उनीहरूले आगो नियन्त्रणमा लिनुका साथै घाइतेको उद्धार गरी अस्पताल पुर्याएका थिए।
घटनास्थल सुरक्षित बनाउने र दुर्घटनाबारे थप अनुसन्धान गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन्।