लद्दाखका पर्यावरण अभियानी सोनम वाङचुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।
इन्स्टाग्राममा भिडिओ सार्वजनिक गर्दै वाङचुकले आफूलाई सरकारले घरमै बस्न सल्लाह दिएको बताएका छन्।
उनले घरवरिपरि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको पनि दाबी गरेका छन्।
उनले गत वर्ष लेहमा भएको हिंसात्मक घटनामा मृत्यु भएकाहरूको न्यायिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइबारे प्रश्न उठाएको बताएका छन्।
त्यस्तै, कडा जाडोको समयमा हतारहतार हिल काउन्सिलको निर्वाचन गराउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन्।
वाङचुकका अनुसार यी विषयलाई लिएर लद्दाखभरि विरोध प्रदर्शन भइरहेका छन्। उनले आफूले उठाएका प्रश्नकै कारण प्रशासनले आफ्नो आवतजावतमा रोक लगाएको आरोप लगाएका छन्।
उनले एक्स, इन्स्टाग्राम र युट्युबमा आफ्ना सामग्रीको पहुँचसमेत व्यापक रूपमा घटाइएको दाबी गरेका छन्।
भारतीय टेलिभिजन एनडिटिभीका अनुसार वाङचुकलाई बुधबार प्रदर्शनस्थलबाट हटाएर निवास पुर्याइएको थियो। त्यसको भोलिपल्ट उनले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका हुन्।
यता लद्दाख प्रहरीले भने वाङचुकमाथि गरिएको निगरानी र रोकलाई निर्वाचनका बेला जारी गरिएको निषेधाज्ञासँग जोडेको छ।
प्रमुख निर्वाचन अधिकृत र लेहका जिल्ला अधिकारीले सार्वजनिक सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाउने आदेश जारी गरेको प्रहरीले जनाएको छ।
वाङचुकले भने आफूलाई औपचारिक रूपमा पक्राउ नगरी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुनबाट रोक्नुको कानुनी आधारमाथि प्रश्न उठाएका छन्। उनले यसविरुद्ध अदालत जाने बताएका छन्।
यसअघि सन् २०२५ सेप्टेम्बर २४ मा लेहमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो।
उक्त घटनाको न्यायिक छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि लद्दाखमा उठिरहेको छ।