आजभन्दा २११ वर्षअघि इन्डोनेसियामा एउटा भयानक ज्वालामुखी विस्फोट भयो।
सन् १८१५ को अप्रिलमा भएको ताम्बोरा ज्वालामुखी विस्फोटबाट ठूलो परिमाणमा खरानी र ग्यास वायुमण्डलमा फैलियो। त्यसको असर इन्डोनेसियामा मात्र सीमित रहेन। हजारौं किलोमिटर टाढाका देशहरूको मौसम समेत प्रभावित भयो।
त्यसैको अर्को वर्ष अर्थात् सन् १८१६ मा युरोप र उत्तर अमेरिकाका विभिन्न ठाउँमा असामान्य चिसो भयो। गर्मी याममा समेत हिउँ र तुषारो पर्यो। खेतीबाली नष्ट भए। खाद्यान्न संकट निम्तियो।
इतिहासमा त्यो वर्षलाई 'गर्मीयाम नै नआएको वर्ष' अर्थात् 'इयर विदाउट अ समर' भनेर चिनिन्छ।
त्यही बेला नेपालको मौसम कस्तो थियो?
ताम्बोरा विस्फोटको असर नेपाली हिमालसम्म आइपुगेको थियो कि थिएन?
त्यति बेलाको नेपालको तापक्रम मापन गर्ने आधुनिक अभिलेख छैन। त्यसो भए २०० वर्षअघिको मौसमबारे कसरी थाहा पाउने?
वैज्ञानिकहरूले यसको अनौठो उपाय फेला पारेका छन्।
उनीहरूले कुनै पुरानो पुस्तक, सरकारी अभिलेख वा ऐतिहासिक दस्तावेजको सहारा लिएनन्। बरू नेपालको हिमाली क्षेत्रमा सयौं वर्षदेखि उभिएका रूखको काठ परीक्षण गरे।
र, ती रूखभित्र यस्तो प्रमाण भेटियो, जसले ताम्बोरा विस्फोटपछिको असामान्य चिसोको इतिहास समेत उजागर गर्यो।
अझ रोचक कुरा, युरोप र उत्तर अमेरिकाका धेरै क्षेत्रमा सन् १८१६ असाधारण चिसो वर्ष थियो। तर नेपाली हिमालका रूखको अध्ययनबाट सबभन्दा चिसो वर्ष सन् १८१७ देखियो।
यो निष्कर्ष सन् २०२६ जुलाई १५ मा वैज्ञानिक जर्नल Journal of Forestry Research मा प्रकाशित नयाँ अनुसन्धानमा उल्लेख छ।
जर्मनी, नेपाल, बेलायत लगायत देशका १३ अनुसन्धानकर्ताको टोलीले सन् १७७५ देखि २०२२ सम्म नेपालको मध्यहिमाली क्षेत्रमा गर्मी यामको तापक्रममा आएको उतारचढाव अध्ययन गरेको हो।
रूखले कसरी बताउँछ पुरानो मौसम?
हामी रूखलाई सामान्यतया काठ, वनजंगल वा अक्सिजनसँग जोडेर हेर्छौं।
वैज्ञानिकहरूका लागि भने रूख मौसमको अभिलेख राख्ने प्राकृतिक साधन पनि हो।
रूख बढ्दै जाँदा त्यसको काण्डभित्र हरेक वर्ष नयाँ गोलाकार घेरा बन्छ। यी घेरालाई वैज्ञानिकहरूले रूखको उमेर र विगतको मौसम पत्ता लगाउन प्रयोग गर्छन्।
कुनै वर्ष रूखको वृद्धि राम्रो हुन्छ। कुनै वर्ष कम। तापक्रम, वर्षा, घाम र वातावरणीय अवस्थाले यसको वृद्धिमा प्रभाव पार्छन्। त्यसैले घेराको बनावटमा विगतको मौसमबारे महत्त्वपूर्ण संकेत सुरक्षित रहन्छ।
नयाँ अनुसन्धानमा वैज्ञानिकहरूले उक्त घेराको चौडाइ मात्र हेरेनन्। उनीहरूले काठको अधिकतम घनत्व पनि परीक्षण गरे।
सरल भाषामा भन्दा, प्रत्येक वर्ष रूखमा बन्ने काठको पछिल्लो भाग कति खँदिलो छ भनेर वैज्ञानिकहरूले मापन गरे।
हिमाली क्षेत्रका केही रूखमा यस्तो घनत्व र गर्मी यामको तापक्रमबीच सम्बन्ध हुन्छ। वैज्ञानिकहरूले यही सम्बन्ध उपयोग गरेर विगतको तापक्रम अनुमान गरेका हुन्।
नेपालका पाँच ठाउँका रूखमा अनुसन्धान
अनुसन्धानकर्ताहरूले नेपालका पाँच स्थानका १३५ जीवित हिमाली फर (Abies spectabilis) रूखबाट प्राप्त काठको तथ्यांक विश्लेषण गरेका छन्।
यी स्थान समुद्री सतहबाट ३ हजार २२० देखि ३ हजार ७५० मिटर उचाइमा थिए।
अनुसन्धानमा समेटिएका स्थान हुन्— रारा, जुम्ला, घोरेपानी, कालिञ्चोक र चोलाङपाटी।
घोरेपानी र कालिञ्चोकका नमूना सन् १९७० को दशकको अन्त्यतिर र जुम्लाका नमूना सन् १९९० को दशकको अन्त्यतिर संकलन गरिएका थिए। रारा र चोलाङपाटीका नमूना भने सन् २०२३ मा संकलन गरिए।
यी नमूनाको काठमा प्रत्येक वर्ष बनेका घेराको घनत्व परीक्षण गरियो। त्यसपछि उपलब्ध तापक्रम अभिलेखसँग तुलना गरियो।
वैज्ञानिकहरूले सन् १९५१ देखि २०२२ सम्मको तथ्यांक परीक्षण गर्दा काठको घनत्व र अप्रिलदेखि सेप्टेम्बरसम्मको औसत तापक्रमबीच बलियो सम्बन्ध भेटे।
पाँच स्थानको तथ्यांकबाट सुरू गरिएको अध्ययनमा अन्तिम तापक्रम मापनका लागि चार स्थानको संयुक्त तथ्यांक प्रयोग गरियो।
यो विधिले उपलब्ध तापक्रममा देखिएको वार्षिक उतारचढावको करिब ४० प्रतिशत व्याख्या गर्न सक्यो।
यसको अर्थ रूखले तापक्रम जस्ताको तस्तै अभिलेख गरेको होइन। तर तापक्रम मापनको व्यवस्था नभएका वर्षहरूबारे वैज्ञानिक अनुमान गर्ने आधार दिएको हो।
नेपालमा सबभन्दा चिसो वर्ष सन् १८१७
अनुसन्धानको सबभन्दा रोचक निष्कर्ष ताम्बोरा ज्वालामुखी विस्फोटसँग सम्बन्धित छ।
सन् १८१५ मा इन्डोनेसियाको सुम्बावा टापुमा भएको ताम्बोरा विस्फोट लिखित इतिहासकै सबभन्दा शक्तिशाली ज्वालामुखी विस्फोटमध्ये एक हो।
विस्फोटबाट निस्किएको सल्फरयुक्त ग्यास वायुमण्डलको माथिल्लो तहसम्म पुग्यो। त्यहाँ बनेका सूक्ष्म कणले सूर्यको केही ऊर्जा अन्तरिक्षतर्फ फर्काइदिए। त्यसले पृथ्वीका धेरै क्षेत्रमा तापक्रम घटायो।
तर यसको असर सबै ठाउँमा एकै समय देखिएन।
नेपालका हिमाली रूखले यही भिन्नताको प्रमाण दिएका छन्।
अध्ययन अनुसार सन् १८१६ देखि १८२० सम्मका पाँच वर्ष मापन गरिएको तापक्रमका आधारमा सबभन्दा चिसा १० वर्षभित्र पर्छन्।
तीमध्ये सन् १८१७ सबभन्दा चिसो देखिएको छ।
उक्त वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्मको औसत तापक्रम सन् १९५१ देखि १९८० सम्मको औसतभन्दा करिब १.६ डिग्री सेल्सियस कम थियो।
त्यसपछि सन् १८१८ दोस्रो सबभन्दा चिसो वर्ष देखियो।
यसको अर्थ ताम्बोरा विस्फोटपछि हिमालमा आएको चिसो एक वर्षमै समाप्त भएको थिएन। लगातार कयौं वर्ष असामान्य चिसो रह्यो।
यो निष्कर्षलाई वैज्ञानिकहरूले अन्य अनुसन्धानसँग पनि तुलना गरेका छन्।
तिब्बती पठारमा भएका केही अध्ययनले समेत सन् १८१७ लाई सन् १८१६ भन्दा चिसो देखाएका छन्।
चीनका ऐतिहासिक अभिलेखमा पनि सन् १८१६ र विशेषगरी १८१७ मा असामान्य चिसोका कारण खेतीबालीमा क्षति र खाद्यान्न संकट निम्तिएको विवरण पाइन्छ।
नेपालमा यसअघि भएका केही रूखसम्बन्धी अध्ययनले पनि सन् १८१७ र त्यसपछिका वर्षमा चिसोको संकेत दिएका थिए।
तर अनुसन्धानकर्ताहरूले एउटा सावधानी अपनाएका छन्।
रूखको वृद्धिमा अघिल्लो वर्षको वातावरणीय अवस्थाले पनि प्रभाव पार्न सक्छ। त्यसैले सन् १८१७ को चिसोको सम्पूर्ण कारण ताम्बोरा विस्फोट नै थियो भनेर रूखको तथ्यांकले मात्र प्रमाणित गर्दैन।
यद्यपि अन्य अनुसन्धान र ऐतिहासिक प्रमाणसँग तुलना गर्दा ज्वालामुखी विस्फोटपछि हिमालयमा धेरै वर्षसम्म चिसो रहेको निष्कर्षलाई बल पुग्छ।
कति विश्वासिला छन् अनुसन्धानकर्ता?
यो अध्ययन जर्मनीको योहानेस गुटेनबर्ग विश्वविद्यालय, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय, नेपालको त्रिभुवन विश्वविद्यालय लगायत अनुसन्धान संस्थामा आबद्ध वैज्ञानिकहरूले गरेका हुन्।
अनुसन्धानका मुख्य लेखक टिम नाह्ट्ज जर्मनीको माइन्जस्थित योहानेस गुटेनबर्ग विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धान गरिरहेका छन्। उनी रूखको काठको घनत्व प्रयोग गरेर जलवायु परिवर्तनका संकेत पहिचान गर्ने विषयमा काम गर्छन्।
अध्ययनको नेतृत्व गर्ने वरिष्ठ अनुसन्धानकर्तामध्ये जान एस्पर त्यही विश्वविद्यालयका जलवायु भूगोलका प्राध्यापक हुन्। उनी रूखका घेराबाट पुरानो जलवायु पुनर्निर्माण गर्ने क्षेत्रका स्थापित अनुसन्धानकर्ता हुन्।
अर्का अनुसन्धानकर्ता फ्रेडरिक राइनिग पनि माइन्ज विश्वविद्यालयसँग आबद्ध छन्। उनले जलवायु परिवर्तन, प्राचीन जलवायु र रूखका घेरासम्बन्धी अनुसन्धानमा विद्यावारिधि गरेका छन्।
अनुसन्धानमा नेपालका वैज्ञानिक नारायणप्रसाद गैरे पनि संलग्न छन्। उनी त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसको वातावरण विज्ञान विभागसँग आबद्ध छन्।
गैरेले यसअघि पनि नेपालको हिमाली क्षेत्रका रूखको अध्ययन गरेका छन्। सन् २०१७ मा प्रकाशित उनको सहलेखनको अनुसन्धानले रारा क्षेत्रका रूखको घेराबाट सन् १८४० देखिको वसन्तकालीन वर्षाको इतिहास पुनर्निर्माण गरेको थियो।
टोलीका अर्का सदस्य आखिम ब्राउनिङ जर्मनीको एर्लाङ्गेन–न्युरेम्बर्ग विश्वविद्यालयमा भौतिक भूगोलका प्राध्यापक हुन्। उनले तिब्बती पठारका रूख र जलवायुको सम्बन्धमा लामो समयदेखि अनुसन्धान गर्दै आएका छन्।
त्यस्तै उल्फ बुन्टगेन क्याम्ब्रिज विश्वविद्यालयमा वातावरणीय प्रणाली विश्लेषणका प्राध्यापक हुन्। रूखका घेरा, जलवायु इतिहास र वातावरणीय परिवर्तन उनका प्रमुख अनुसन्धान क्षेत्र हुन्।
यसरी सम्बन्धित विषयमा अनुभव भएका वैज्ञानिकहरूको सहभागिता, अन्तर्राष्ट्रिय वैज्ञानिक समीक्षा र प्रकाशित अनुसन्धान विधिले अध्ययनको विश्वसनीयतालाई बल पुर्याउँछन्।
अहिलेको जलवायु परिवर्तन बुझ्न किन महत्त्वपूर्ण?
यो अनुसन्धान केवल २०० वर्षअघिको चिसो पत्ता लगाउन सीमित छैन।
यसले अहिले हिमालमा भइरहेको तापक्रम वृद्धिलाई ऐतिहासिक सन्दर्भमा बुझ्न पनि मद्दत गर्छ।
नेपालमा आधुनिक मौसम मापनको व्यवस्थित अभिलेख सीमित अवधिको मात्र उपलब्ध छ। त्यसअघिको मौसम बुझ्न हिमनदीको बरफ, तालमा थुप्रिएका पदार्थ र रूखका घेरा जस्ता प्राकृतिक प्रमाण आवश्यक पर्छन्।
यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनको सीमा पनि स्वीकार गरेका छन्।
उनीहरूका अनुसार रूखको घनत्वले वर्षैपिच्छे हुने तापक्रमको परिवर्तन राम्रोसँग समाते पनि दशकौं र शताब्दी लामो तापक्रम प्रवृत्तिलाई पर्याप्त विश्वसनीयताका साथ पुनर्निर्माण गर्न सकेको छैन।
त्यसैले यो अध्ययनका आधारमा सन् १७७५ देखि अहिलेसम्म नेपाल कति डिग्री तात्यो भन्ने ठ्याक्कै निष्कर्ष निकाल्न मिल्दैन। तर विगतमा असामान्य चिसो कहिले आयो र त्यसको प्रभाव कति वर्षसम्म रह्यो भन्ने बुझ्न यसले महत्त्वपूर्ण आधार दिएको छ।
यसको अर्को विशेषता पनि छ।
नेपालका हिमाली क्षेत्रमा वर्षाको मौसममा समेत तापक्रमको इतिहास पुनर्निर्माण गर्न सकिने सम्भावना देखिएको छ। यसअघि रूखका घेरामा आधारित धेरै अनुसन्धानले मुख्यतः वसन्तकालीन तापक्रम वा वर्षामा ध्यान दिएका थिए।
वैज्ञानिकहरूले आगामी दिनमा थप स्थान र प्रजातिका रूखको अध्ययन गर्न सके हिमाली मौसमको अझ लामो र भरपर्दो इतिहास तयार गर्न सकिने बताएका छन्।
आजभन्दा २०० वर्षअघि इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा नेपालको हिमालयमा कस्तो असर पर्यो भन्ने तत्कालीन मानिसहरूले वैज्ञानिक अभिलेख राखेका थिएनन्।
तर त्यसको संकेत प्रकृतिले सुरक्षित राखेको रहेछ। हिमाली क्षेत्रममा उभिएका रूखका काठभित्र!
***