अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङले सञ्चालक समितिले चाहे आफू फेरि सिइओमा फर्कन तयार रहेको बताएका छन्।
एनभिडियाबाट बाहिरिएपछि पहिलोपटक एक्समार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै हुआङले कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकहरूबाट आफूलाई कम्पनीको नेतृत्वमा फर्कन आग्रह भइरहेको र बोर्डले चाहे फर्कन तयार रहेको बताएका हुन्।
‘यदि सञ्चालक समितिले मेरो फिर्ती सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुन्छ भन्ने निर्णय गर्छ भने, यी आग्रह स्वीकार गरेर सिइओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मान हुनेछ,’ उनले भनेका छन्।
उनले पछिल्लो एक सातामा साथीहरू, उद्योगका सहकर्मी र आफूले कहिल्यै नभेटेका मानिसबाट समेत आफू र परिवारप्रति माया तथा समर्थन पाएको बताएका छन्।
त्यसका लागि उनले सबैलाई धन्यवाद दिएका छन्।
हुआङले व्यक्तिगत जीवनमा गम्भीर गल्ती गरेको स्वीकार गरेका छन्।
उनले त्यसको पूर्ण जिम्मेवारी लिने र बोर्डको स्वतन्त्र छानबिनमा सहयोग गर्ने बताएका छन्।
‘मैले एनभिडियामा सबैबाट अपेक्षा गरिने मापदण्ड पूरा गर्न सकिनँ र आफ्नो व्यक्तिगत जीवनमा गम्भीर गल्तीहरू गरेको छु। मैले सञ्चालक समितिलाई समस्या सिर्जना गरेँ, जसप्रति मलाई गहिरो पछुतो छ। म आफ्ना गल्तीहरूको पूर्ण जिम्मेवारी लिन्छु र सञ्चालक समितिको स्वतन्त्र छानबिनमा सहयोग गर्न प्रतिबद्ध छु,’ हुआङले भनेका छन्।
सहकर्मीहरूँग मिलेर एनभिडियालाई आजको अवस्थामा पुर्याउन पाउनु आफ्ना लागि सौभाग्य र सम्मान रहेको पनि हुआङले बताएका छन्।
अमेरिका बाहेक अन्य कुनै देशमा एनभिडियाजस्तो कम्पनी सम्भव नभएको भन्दै हुआङले आफू कम्पनी र देश दुवैलाई माया गर्ने बताएका छन्।
यसअघि श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै हुआङले एनभिडियाका कर्मचारीलाई पत्र पठाएपछि एलिस हुआङसँग उनी प्रेम सम्बन्धमा रहेको सार्वजनिक भएको थियो।
सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी रहेकी हुआङले चीनका लागि सूचना संकलन गरेको आशंकामा अहिले छानबिन भइरहेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले जेन्सेन कम्पनीकै अरू कर्मचारीसँग पनि सम्बन्धमा रहेको सार्वजनिक गरेका थिए।
घटना सार्वजनिक भएपछि हुआङले सिइओबाट राजीनामा दिएका थिए। सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गरी उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ।
ताइवानमा जन्मिएका ६३ वर्षीय हुआङले सन् १९९३ मा दुई इन्जिनियरसँग मिलेर एनभिडिया स्थापना गरेका थिए।
क्यालिफोर्नियाको एउटा रेस्टुरेन्टमा भिडिओ गेमका दृश्यलाई वास्तविकजस्तो देखाउने चिप बनाउनेबारे उनीहरूले गरेको कुराकानीबाट कम्पनीको सुरुआत भएको एपीले लेखेको छ।
स्थापनादेखि नै हुआङ कम्पनीका प्रमुख कार्यकारी छन्।
एनभिडियाका ग्राफिक्स चिप (जिपियू) ले धेरै हिसाब एकैसाथ गर्न सक्छन्। गेमका दृश्य बनाउन काम लागेको यही क्षमता पछि च्याटजिपीटीजस्ता एआई प्रणालीलाई ठूलो परिमाणको सामग्रीबाट सिकाउन र चलाउन उपयोगी भयो। एनभिडिया अहिले एआई चिपको प्रमुख आपूर्तिकर्ता हो।
कम्पनीको वित्तीय विवरणअनुसार जुलाई २६ मा सकिएको तीन महिनामा एनभिडियाको कुल आम्दानी ९६ अर्ब २० करोड अमेरिकी डलर थियो। त्यसमध्ये ८९ अर्ब डलर डेटा सेन्टर व्यवसायबाट आएको थियो।
गत भदौमा रसुवाको भोटेकोशीमा बाढी आएपछि हुआङको नेतृत्वमा रहेको एनभिडियाले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड अमेरिकी डलर (करिब डेढ अर्ब रूपैयाँ) सहयोग गरेको थियो। अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यस बेला हुआङलाई धन्यवाद दिएका थिए।
हुआङसँग एनभिडियाको करिब ३.६ प्रतिशत सेयर छ।
विवादपछि उनले राजीनामा दिएसँगै कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएकी छन्।