त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
मंगलबार राति ११ः१५ बजे हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुन फेला पारेको हो।
डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा बरामद गरिएको हो। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन्।
प्रहरीका अनुसार लिन लिनाले प्लास्टिकको र्यापसहित १ हजार ३४० ग्राम तौल भएका पाँच थान र लिन सिनपिङले १ हजार ८ ग्राम तौल भएका तीन थान अर्धठोस सुन ल्याएका थिए।
बरामद सुनको कुल तौल २ हजार ३४८ ग्राम छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाउने तयारी गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।