वरिपरि सेताम्मै हिमशृंखला। अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका।
हिमालको काखमा रहेको लाङटाङ उपत्यका जति सुन्दर छ, त्यहाँका बासिन्दाको जीवन पनि उत्तिकै आत्मीय छ।
हिउँजस्तै निर्मल मन भएका यहाँका बासिन्दा एकातिर हिमालझैं मुस्कुराउँछन् भने अर्कातिर जीवनका अनेक संघर्षलाई चट्टानझैँ सामना गर्छन्।
लाङटाङ भ्यालीकी ५० वर्षीया फुर्पु शेर्पा भन्छिन्, ‘हामी हिमालीवासी खुसी हुँदा हिमालझैँ हाँस्छौँ, दुःख पर्दा चट्टानझैँ जुध्न सक्छौँ। शेर्पालाई खुसी हुन धेरै ठूलो कुरा चाहिँदैन।’
हिमाली गाउँ हेर्न आउने पर्यटक देख्दा खुसी लाग्ने उनी बताउँछिन्। विशेषगरी आफ्नै छोराछोरीको उमेरका युवा पर्यटक गाउँ आइपुग्दा उनीहरूलाई आफ्नै सन्तानजस्तै ठान्छिन्।
‘कहाँसम्म पुग्ने हो? आउनुस्, चिया खाऔँ,’ भन्दै पर्यटकलाई बोलाउँछिन्।
व्यापारका दृष्टिले हेर्दा यो ग्राहक बोलाउने सामान्य शैली हुन सक्छ।
तर फुर्पुका लागि पर्यटकसँगको आत्मीयता र सन्तानको सम्झनासँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो।
भूकम्पमा परिवारका सदस्य गुमाएपछि उनी एक्लै जीवनको जिम्मेवारी सम्हाल्दै आएकी छन्। चार सन्तानकी आमा फुर्पुले २०७२ सालको भूकम्पमा जेठो छोरा, छोरी र श्रीमान् गुमाइन्।
उनका दुई छोरीमध्ये एक क्यानडामा अध्ययनरत छिन् भने अर्की काठमाडौंमा पढिरहेकी छन्।
गाउँ आउन आग्रह गर्दा छोरीले ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिनँ’ भन्ने गरेको उनी सुनाउँछिन्। छोरीको यस्तो जवाफ सम्झेर उनी एकछिन मुस्कुराउँछिन्। तर त्यो हाँसोभित्र सन्तानसँगको भेटको प्रतीक्षा र कतै उनीहरूले आफूलाई बिर्सने हुन् कि भन्ने चिन्ता पनि लुकेको छ।
‘जिन्दगी के नै रहेछ र!’ उनी छोटो वाक्यमा आफ्नो जीवनको पीडा पोख्छिन्।
लाङटाङकै ७२ वर्षीय तेन्जेन लामा र उनकी ७० वर्षीया पत्नी याङ्जेन जाङ्डुम्पाको जीवन पनि देखेजस्तो सजिलो छैन।
यहाँ बस्ने प्रत्येक व्यक्तिका आआफ्नै कथा छन्।
लामा दम्पतीका एक छोरा र तीन छोरी छन्। दुई छोरी र छोरा-बुहारी अमेरिकामा छन्। सन्तान विदेशमा भए पनि उनीहरूको मन भने आफ्नै गाउँ र हिमालसँग जोडिएको छ।
लाङटाङमा अहिलेसम्म सहज सडक पहुँच छैन।
दैनिक उपभोग्य सामग्रीसमेत कठिनाइका साथ ढुवानी गर्नुपर्छ। बजारमा दुई हजार ५०० रुपैयाँ पर्ने चामल गाउँसम्म ल्याउँदा ढुवानी खर्च जोडिएर पाँच हजार रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन्। खाद्यान्नदेखि निर्माण सामग्रीसम्म महँगो मूल्य तिर्नुपर्ने बाध्यता यहाँका बासिन्दाले भोगिरहेका छन्।
त्यसमाथि लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भारसमेत व्यहोर्नुपरेको गुनासो गर्छन्।
विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार र नेपाली पर्यटकबाट एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ। पर्यटकबाट शुल्क उठाइए पनि पदमार्ग, फोहोर व्यवस्थापन र स्थानीय पूर्वाधार सुधारमा त्यसअनुसार काम नभएको उनीहरूको गुनासो छ।
प्रकृतिले मन खोलेर दिएको सौन्दर्यका बीच लाङटाङवासीको दैनिकी भने सहज छैन। पर्यटकको आगमनबाट जीविका चलाउने यहाँका बासिन्दा बाटो, स्वास्थ्य सेवा, खाद्यान्न ढुवानी र पर्यटन व्यवस्थापनको अभावसँग जुधिरहेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ उपत्यका नेपालको लोकप्रिय पदयात्रा गन्तव्य हो। सगरमाथा र अन्नपूर्णपछि चर्चामा आउने लाङटाङमा हिमाली दृश्य, स्थानीय तामाङ तथा शेर्पा समुदायको संस्कृति र मौलिक जीवनशैली हेर्न बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक पुग्छन्।
तर पर्यटकलाई लोभ्याउने यही गन्तव्यसम्म पुग्ने बाटो र त्यहाँको आधारभूत सेवा भने अझै व्यवस्थित हुन सकेको छैन।
ठूलो स्याफ्रुस्थित नमस्ते होटलका सञ्चालक कर्मा लामाका अनुसार लाङटाङ नाम रहनुका पछाडि स्थानीय जनविश्वासमा आधारित रोचक किंवदन्ती छ।
उनका अनुसार पहिले तिब्बतबाट एउटा जनावर गोठालोसँगै भागेर आएको थियो। गोठालाले फर्काउन खोज्दा पनि नमानेपछि किलाले बाँधेर राखिएको र पछि किला फुकाएर भागेको उक्त जनावरलाई धेरै दुःख दिएको भन्दै गोठालाले हतियार प्रहार गरी मारेको स्थानीय जनविश्वास छ। त्यसपछि त्यस ठाउँको नाम लाङटाङ रहन गएको उनी बताउँछन्।
यस्ता किंवदन्ती र स्थानीय संस्कृति पनि लाङटाङका पर्यटकीय आकर्षण हुन्। यद्यपि प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रचार र संरक्षणसँगै यहाँका बासिन्दाको जीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन।
बिरामी पर्दा हेलिकप्टरको भर
हिमाली जीवनको अर्को ठूलो चुनौती स्वास्थ्य सेवा हो। सामान्य अवस्थामा जसोतसो जीवन चलाए पनि बिरामी पर्दा उपचारका लागि अस्पताल पुग्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ।
‘अरू बेला त जसोतसो चलेको छ, बिरामी पर्दा उपचार नपाइने डरले सताउँछ,’ फुर्पु भन्छिन्, ‘बिरामी भए हेलिकप्टरबिना अस्पताल पुग्न सकिँदैन। हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जम्मा भएकै हुनुपर्छ।’
आपतकालीन अवस्थामा हेलिकप्टर नै एकमात्र विकल्पजस्तो बन्नु यहाँको स्वास्थ्य सेवाको कमजोर पहुँचको चित्र हो।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो खर्च जुटाउनु झन् कठिन छ। पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनिएको लाङटाङमा स्थानीयले सामान्य स्वास्थ्योपचारका लागि समेत ठूलो आर्थिक जोखिम मोल्नुपर्ने अवस्था छ।
बाढीपछि घट्यो पर्यटकको चहलपहल
२०७२ सालको भूकम्पले तहसनहस भएको लाङटाङ विस्तारै उठ्दै थियो। त्यसपछि भोटेकोशी नदीको बाढीले स्याफ्रुबेँसी क्षेत्रमा क्षति पुर्याएपछि पर्यटन गतिविधिमा थप असर परेको स्थानीय व्यवसायी बताउँछन्।
ओर्जिनल लामा होटलका सञ्चालक राजु गुरुङका अनुसार बाढीपछि स्याफ्रुबेँसी हुँदै हुने पदयात्रा प्रभावित भएको छ। त्यसको असर लाङटाङ आउने पर्यटकको सङ्ख्यामा परेको छ।
‘पहिला नेपाली पर्यटकको पनि आकर्षणको केन्द्र थियो। अहिले पर्यटकको सङ्ख्या निकै घटेको छ,’ उनी भन्छन्।
उनका अनुसार बाढीका कारण पुरानो पदमार्ग प्रयोग गर्न कठिन भएपछि पर्यटकले अहिले ठूलो स्याफ्रु हुँदै यात्रा सुरु गर्नुपर्ने अवस्था छ।
पदयात्राको मार्ग परिवर्तन हुँदा पर्यटकलाई आवतजावतमा थप कठिनाइ भएको छ। यसले होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा निर्भर स्थानीयको आम्दानीसमेत प्रभावित बनाएको छ।
लाङटाङमा होटल व्यवसाय सञ्चालन गर्ने सोनाम शेर्पा निकुञ्जले वार्षिक चार लाख रुपैयाँ लिने गरेको बताउँछन्।
पर्यटन व्यवसायबाट आम्दानी गर्न खोज्ने स्थानीयले महँगो शुल्क तिर्नुपरे पनि पदमार्गको अवस्था र व्यवस्थापनमा सुधार नदेखिएको उनको गुनासो छ।
केन्जिङ गुम्बाका २७ वर्षीय पेम्बा तामाङका अनुसार उक्त क्षेत्रमा करिब ३० घर छन्। स्थानीयले आफ्नै प्रयासमा पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन्।
गोसाइँकुण्ड गाउँपालिका–४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङ लाङटाङ भ्याली पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि तीनै तहका सरकारले प्राथमिकता दिन नसकेको बताउँछन्। स्थानीयले भत्किएको पदमार्ग आफ्नै प्रयासमा मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने काम गरिरहेको उनी सुनाउँछन्।
‘निकुञ्जको भालुले हामीलाई खायो भने पाँच लाख क्षतिपूर्तिमा चित्त बुझाउनुपर्छ। यदि हामीले ज्यान जोगाउन प्रतिकार गर्दा भालु मर्यो भने आजीवन कैदी बन्नुपर्छ,’ उनी भन्छन्, ‘के गर्नु? हाम्रो मूल्य जनावरको जति पनि छैन।’
प्रचुर सम्भावना, व्यवस्थापन कमजोर
लाङटाङ उपत्यकाको अर्को चुनौती पदमार्गको अवस्था र फोहोर व्यवस्थापन हो। निकुञ्ज क्षेत्र पार गर्दै लाङटाङ भ्याली पुग्दासम्म यात्राका क्रममा फोहोर सङ्कलन गर्ने डस्टबिन देखिँदैनन्। कतिपय स्थानमा ठूला पहिरो खसेका छन्। जोखिमपूर्ण बाटो हुँदै पर्यटकले यात्रा गर्नुपर्ने अवस्था छ।
तिहारको समयमा लाङटाङ पदयात्रामा पुगेका स्याङ्जाका प्रविन न्यौपाने पर्यटकीय आकर्षणको गन्तव्य भए पनि सुरक्षित र व्यवस्थित पदमार्ग बनाउन खासै ध्यान नदिएको बताउँछन्।
‘यति सुन्दर ठाउँ छ, फोहोर व्यवस्थापन र पदमार्ग व्यवस्थित नहुँदा दुःख लाग्यो,’ उनी भन्छन्।
नमस्ते होटलका सञ्चालक कर्मा लामा भने पदमार्ग सफा राख्न पर्यटक र यात्रुको व्यवहार पनि जिम्मेवार हुनुपर्ने बताउँछन्। ‘नेपालीले सफा गर्ने हो भने पदमार्ग फोहोर हुँदैन,’ उनी भन्छन्।
काठमाडौंको करिब छदेखि सात घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगेर लाङटाङ पदयात्रा सुरु गर्न सकिन्छ।
क्यान्जिन गुम्बा यस क्षेत्रको प्रमुख आकर्षण हो। त्यहाँबाट करिब चार हजार ९८४ मिटर उचाइमा रहेको ‘त्सेर्को री’ पुगेर वरिपरिका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
हिमाल, हिमनदी, पहाड र उपत्यकाको प्राकृतिक दृश्यसँगै तामाङ तथा शेर्पा समुदायको संस्कृति, परम्परा र जीवनशैलीले लाङटाङलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएको छ। स्थानीय संस्कृति बुझ्न, हिमाली जनजीवन अनुभव गर्न र पदयात्रामा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र विशेष आकर्षणको केन्द्र हो।
नेपाल पर्यटन बोर्डको पदयात्रा गन्तव्यसम्बन्धी वर्गीकरणमा पनि लाङटाङलाई सगरमाथा र अन्नपूर्णपछि चर्चित पदयात्रा क्षेत्रका रूपमा लिने गरिन्छ।
यसको वास्तविक सम्भावना उपयोग गर्न पदमार्गको स्तरोन्नति, सुरक्षित आवागमन, स्वास्थ्य सेवाको पहुँच, खाद्यान्न ढुवानीको सहजता र फोहोर व्यवस्थापनमा लगानी आवश्यक देखिन्छ।
हिमालझैँ मुस्कुराउने लाङटाङवासीको जीवन सहज बनाउन प्राकृतिक सुन्दरताको प्रचारसँगै उनीहरूका आधारभूत समस्या समाधानमा पनि ध्यान दिनुपर्ने देखिन्छ।