इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।
घटनामा २१ जना घाइते भएका छन्।
इजिप्टको गिजा प्रान्तस्थित इम्बाबा जिल्लाको वराक क्षेत्रमा बुधबार ट्यांकर सडकबाट अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
त्यसपछि ट्यांकरमा विस्फोटसहित आगलागी भएको इजिप्टको पेट्रोलियम मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आगलागी कायरोको रिङ रोडनजिकै टनेल १० माथि भएको थियो।
घटनास्थलमा ३९ वटा एम्बुलेन्स परिचालन गरी घाइतेलाई तीन वटा अस्पतालमा पुर्याइएको थियो।
स्वास्थ्य मन्त्री खालेद अब्देलगफारले आसपासका अस्पताललाई उच्च सतर्कतामा रहन निर्देशन दिएका थिए। उनले घटनास्थल र घाइतेको उपचार भइरहेको अस्पताल पुगेर उद्धार तथा उपचारको अवस्थाबारे जानकारी लिएका थिए।
घटनाबारे सरकारी वकिलको कार्यालयले अनुसन्धान थालेको छ। अनुसन्धानका लागि टोली घटनास्थल र अस्पतालमा खटाइएको छ।
टोलीले घाइतेसँग सोधपुछ गर्नुका साथै मृतकको शव परीक्षण गर्ने र दुर्घटनाको कारण पत्ता लगाउने काम गरिरहेको छ।
सरकारी वकिलका अनुसार प्रारम्भिक अनुमानमा आगलागीबाट कार र मोटरसाइकलसहित २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्।
पहिचान खुल्न नसकेका दुई मृतकको पहिचानका लागि डिएनए नमुना संकलन गर्न पनि आदेश दिइएको छ।
इजिप्टियन रेड क्रिसेन्टले पनि घटनास्थल र अस्पतालमा उद्धार टोली परिचालन गरेको जनाएको छ। टोलीले नागरिक सुरक्षा निकाय र एम्बुलेन्स सेवाका कर्मचारीलाई सहयोग गरिरहेको छ।
इजिप्टको वित्तीय नियामक प्राधिकरणले दुर्घटनामा मृत्यु भएकाका परिवार र घाइतेलाई अनिवार्य सवारी बिमा कोषबाट क्षतिपूर्ति दिन प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएको छ। प्राधिकरणका प्रतिनिधिले मृतकका परिवारसँग सम्पर्क गरी आवश्यक कागजात पूरा गर्नेछन्।
घटनास्थलबाट खिचिएका भिडिओमा धेरै सवारीसाधन आगोले घेरिएको र बाक्लो कालो धुवाँ आकाशतिर फैलिएको देखिन्छ।
आगलागीका क्रममा थप विस्फोटका आवाजसमेत सुनिएका छन्।
स्वास्थ्य मन्त्रालयले घाइतेको उपचार र घटनाको अवस्थाबारे निगरानी जारी रहेको जनाएको छ।