विश्वभर हरेक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ।
संयुक्त राष्ट्रसंघले बालविवाह र जबरजस्ती विवाह अन्त्य गर्न विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।
आज नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो।
संयुक्त राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी हरेक वर्ष नोभेम्बर २७ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यस वर्ष पहिलोपटक यो दिवस मनाउन लागिएको हो।
राष्ट्रसंघका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो।
विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्यांक छ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताएका थिए।
उनले बालविवाहको मुख्य कारण गरिबी रहेको र द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका बेला यसको जोखिम अझ बढ्ने बताएका थिए।
बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको भनाइ थियो।
गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट करिब ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ।
तर अहिलेको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनले चेतावनी दिएका थिए।
उनले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम र लगानी बढाउन आह्वान गरेका थिए।
यसैगरी, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न अहिलेको प्रयासको गति २० गुणा बढाउनुपर्ने बताएका थिए।
बालविवाह मानवअधिकारको उल्लंघन भएको उल्लेख गर्दै उनले विवाहको न्यूनतम उमेर १८ वर्ष निर्धारण गर्ने कानुनको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक रहेको बताएका थिए।
विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ।
साथै बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय र समाधान प्रक्रियामा सहभागी गराउनुपर्ने उसको भनाइ छ।
राष्ट्रसंघका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्।
त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।
पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ।
यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकोमा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यो अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ।
बालविवाहले बालिकाको शिक्षा र आर्थिक आत्मनिर्भरताको अवसर गुमाउनुका साथै स्वास्थ्य तथा व्यक्तिगत स्वतन्त्रतामा पनि असर पार्छ।
यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले जनाएको छ।
दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ।
तर अहिलेको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसंघको आकलन छ।
बालविवाह अन्त्य गर्न कानुनी सुधारसँगै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार र सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ।