दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्रीमा बिहीबार क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलअन्तर्गत फुल कोर्टमा एपीएफले कर्णालीलाई ६७–१९, बागमतीले मधेशलाई ४३–५, कोशीले गण्डकीलाई ३३–७ र आर्मीले लुम्बिनीलाई ८०–२ ले पराजित गरे । एपीएफकी डोमा तामाङले ११, बागमतीकी एलिशा कार्कीले १०, कोशीकी आस्था कुलुङ राईले ९ र आर्मीकी नौसिका लिम्बूले २४ अंक जोडे ।
क्वाटरफाइनल एपीएफ र गण्डकी, सुदूरपश्चिम र लुम्बिनी, कोशी र नेपाल पुलिस तथा नेपाल आर्मी र बागमतीबीच हुनेछ ।
थ्री अन थ्रीमा एपीएफले कोशीलाई १२–५, कर्णालीले मधेशलाई १६–१, सुदूरपश्चिमले गण्डकीलाई ८–४ र पुलिसले लुम्बिनीलाई ५–१ ले हराए । क्वाटरफाइनलमा आर्मीले गण्डकी, बागमतीले लुम्बिनी, सुदूरपश्चिमले एपीएफ तथा पुलिसले कर्णाली विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । दुवै विधाको क्वाटरफाइनल शुक्रबार हुनेछ ।