कोरोना भाइरसका कारण सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) रद्द भएमा पाँच सय मिलियर डलर (६० अर्ब १० करोड बढी रुपैयाँ) घाटा हुने भएको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) का कोषाध्यक्ष अरुण धुमालका अनुसार घाटा भए पनि अहिलेसम्म खेलाडीको तलब काट्ने विषयमा कुनै निर्णय नभएको बताए।
विश्वकै सबैभन्दा महँगो टी-२० फ्रेञ्चाइज लिग आइपिएल १२ वर्षको इतिहासमा पहिलो पटक अनिश्चितकालका लागि स्थगित भएको थियो। लिग गत मार्च २९ देखि सुरु गर्ने तय भए पनि कोरोनाभाइरसका कारण यो सिजन हुन्छ/हुँदैन यकिन छैन।
यो सिजन आइपिएल नभए बिसिसिआईले पाँच सय मिलियन अमेरिकी डलर भन्दा बढी घाटा ब्यहोर्न बाध्य हुने कोषाध्यक्ष धुमालले बताए।
कोरोनाका कारण विश्वभरका खेलकुद गतिविधि ठप्प भएको अवस्थामा फेरि सुचारु गर्न सरकारको निर्णयमा भार पर्छ। त्यसैले यो सिजनको आइपिएल हुन भारतीय सरकारको निर्णय कुर्नु पर्ने धुमालको भनाइ छ।
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले यसअघि नै रद्द गरेको थियो। तर ठूलो आर्थिक घाटा हुने भएकाले आइपिएलको विषयमा अझै निर्णय गरिएको छैन।
त्यसैले भारतले सेप्टेम्बरपछि आइपिएल गर्न चाहिरहेको छ। तर टी-२० विश्वकपका कारण आइपिएल हुने सम्भावना न्यून छ।