वेस्ट इन्डिजविरूद्ध युनिटी कप टी-२० इन्टरनेशल क्रिकेट सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीले अन्तत: भिसा पाएको छ।
यसअघि शुक्रबार विहानै युएई जान लागेको नेपाली टोलीले भिसा समयमै नपाउँदा टिकट रद्द गरिएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको भिसा प्राप्त भएको र नेपाली टोली सोमबार युएई प्रस्थान गर्ने जनाएको छ।
नेपाली टोलीले असोज ११ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्दैछ। त्यसको तयारीका लागि नेपाली टोली एक साताअघि नै त्यहाँ पुग्न लागेको हो।
नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो। सिरिज युएईमा हुने भए पनि आयोजक भने नेपाल हो।
ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
सिरिजको तालिका
पहिलो टी-२० आई : असोज ११, शारजाह
दोस्रो टी-२० आई: असोज १३, शारजाह
तेस्रो टी-२० आई: असोज १४, शारजाह
नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
वेस्ट इन्डिज टोली: अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा,रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।