भारतले पाकिस्तानलाई पराजित गर्दै टी-२० एसिया कप जितेको छ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो। उक्त रनलाई भारतले ५ विकेटको क्षतिमा दुई बल बाँकी रहँदै भेटाएको हो।
भारतका लागि तिलक वर्माले अविजित ६९ रन बनाए।
शिवम दुबेले ३३ रन, सञ्जु स्यामसनले २४ रन, शुभमन गिलले १२ रन बनाएका थिए।
पाकिस्तानका बलर फहिम अश्रफले तीन, शाहिन शाह अफ्रिदीले एक र अब्रार अहमदले एक विकेट लिएका थिए।
पाकिस्तानको तर्फबाट साहिबजादा फर्हानले ५७ रन बनाएका थिए। फखर जमनले ४६, सैम अयुबले १४ रन बनाएका थिए।
भारतका कुलदीप यादवले चार विकेट लिँदा जस्प्रित बुमराह, बरूण चक्रवर्ती र अक्सर पटेलले दुई/दुई विकेट लिएका थिए।
यो प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिडेका हुन्।
एसिया कपको ४० वर्षको इतिहासमा भारत र पाकिस्तानबीच उपाधिका लागि पहिलो पटक प्रतिस्पर्धा भएको हो।
यसअघि भारत र पाकिस्तान समूह चरणमा भिडेका थिए। सो खेलमा भारतले ७ विकेटको सहज जित निकालेको थियो। सुपर-४ को खेलमा पनि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदा भारत फेरि हाबी भयो। भारतले ६ विकेटले सहजै खेल जितेर फाइनलमा स्थान बनाएको थियो।
सन् १९८४ मा सुरू भएको एसिया कपमा भारत र पाकिस्तानले यसअघि समूह चरणसहितका खेलमा प्रतिस्पर्धा गरे पनि फाइनलमा भने कहिल्यै भिडेका थिएनन्।
यो अवधिमा १६ संस्करणका एसिया कप सकिदा भारतले आठ पटक उपाधि जितेको छ भने पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ। भारतले पछिल्लो पटक २०२३ मा उपाधि जित्दा पाकिस्तानले सन् २०१२ यता उपाधि जित्न सफल भएको छैन।
सन् २००७ यता भारत र पाकिस्तानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा १५ पटक प्रतिस्पर्धा भएको छ। जसमा भारतले योसँगै १२ खेलमा जित निकालेको छ। पाकिस्तान भने तीन पटक विजयी भएको छ। एक खेल भने बराबरीमा सकिएको छ।