मलेसियाविरूद्धको चौथो टी-२० खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ।
मंगलबार क्वालालम्पुरमा भएको खेलमा नेपालले जित निकालेसँगै सिरिज २-२ को अवस्थामा पुगेको छ। यसअघि पहिलो र तेस्रो खेल मलेसियाले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।
अब भोलि हुने पाँचौ खेल सिरिजको निर्णायक खेल हुनेछ। यो खेल जित्नेले सिरिज जित्नेछ।
मंगलबार पहिले ब्याटिङ गरेको मलेसियाले ५ विकेटको क्षतिमा १११ रन बनायो। उसका लागि मास एलिसाले नटआउट ५६ रन बनाइन्। उनले ६३ बलमा ५ चौका प्रहार गरे।
बलिङमा नेपालका कविता कुँवरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन मात्र दिइन्।
११२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो।
नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४८ रन र रुबिना क्षेत्रीले नटआउट २३ रन बनाए।
४८ रन जोडेसँगै इन्दू नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने पहिलो ब्याटर भइन्।
उनले नेपालका लागि ७७ खेल खेल्दा ७० इनिङ ब्याटिङ गर्दै एक हजार रन पूरा गरेकी हुन्। उनले टी-२० अन्तर्राष्ट्रिय खेलमा एक पटक मात्र अर्धशतक प्रहार गरेकी छिन्।
सन् २०१९ मा आइसिसीले सबै महिला टी-२० खेललाई अन्तर्राष्ट्रिय मान्यता दिए यता इन्दूले एक हजार रन पूरा गरेकी हुन्।
२८ वर्षीय अलराउन्डर इन्दूले ७७ खेलमा ४० विकेट समेत लिएकी छन्।