आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटका खेलहरू बुधबारदेखि ओमानमा सुरू हुँदैछन्।
एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीबीच प्रतिस्पर्धा हुने यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।
छनोटमा नेपालले सुरूमा समूह २ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नेपालले बुधबार कुवेतसँग राति ८:४५ बजे खेल्नेछ। शुक्रबार नेपालले जापानसँग समूहको अन्तिम खेल्नेछ।
यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर-६ मा पुग्नेछ। भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।
सुपर-६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।
यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ।
समूह १ – युएई, मलेसिया, कतार
समूह २ – नेपाल, कुवेत, जापान
समूह ३ - ओमान, पिएनजी, सामोआ
नेपालका खेल
नेपाल भर्सेस कुवेत : असार २२, बुधबार, राति ८:४५ बजे
नेपाल भर्सेस जापान : असार २४, शुक्रबार, दिउँस ४:१४ बजे
नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।
विश्वकप २०२६ मा छनोट भइसकेका १७ टोली
आयोजक : भारत र श्रीलंका
सन् २०२४ सुपर-८ : अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज
वरीयताका आधारमा : आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान
अमेरिका छनोट : क्यानडा
युरोप छनोट : इटाली र नेदरल्यान्ड्स
अफ्रिका छनोट : नामिबिया र जिम्बावे
एसिया छनोट : ३ टोली छनोट हुन बाँकी