आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको सुपर-६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। शुक्रबार राति घरेलु टोली ओमानले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेसँगै सुपर-६ को समिकरण पनि पूरा भएको छ।
सुपर सिक्समा समूह-१ बाट युएई र कतार, समूह-२ बाट नेपाल र जापान तथा समूह-३ बाट ओमान र सामोआ सुपर-६ मा पुगेका हुन्।
अब सुपर-६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर-६ मा गणना हुनेछ।
जसमा युएई, नेपाल र ओमानले सुपर-६ मा २-२ अंक जोडिसकेका छन्।
अब नेपालले सुपर-६ मा आइतबार युएईसँग पहिलो खेल खेल्नेछ। दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।