विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याका धावक जोन केलाई नेपालगन्ज आइपुगेका छन्।
धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी आएका हुन्।
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भीम ओलीले जोनलाई स्वागत गरे।
रेस डाइरेक्टर गुरुङका अनुसार, जोन गौघाट ग्रीन रनमा अतिथि धावकका रूपमा सहभागी हुनेछन् र स्कूले धावकहरूसँगै दौडेर उनीहरूलाई प्रोत्साहन दिनेछन्।
जोन सन् २००३ देखि २०१० सम्म मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन (नेदरल्यान्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा), सिंगापुर म्याराथन र ब्रसेल्स म्याराथन (बेल्जियम) का विजेता हुन्। उनलाई म्याराथनको विज्ञ मानिन्छ।
गौघाट ग्रीन रन खजुराको सितापुरमा गत वर्षदेखि सुरु गरिएको हो। यसको उद्देश्य बढ्दो तापक्रम र पर्यावरणमा प्लास्टिकको नकारात्मक प्रभावबारे बालबालिकालाई सचेत गराउँदै हरियाली गाउँ निर्माण गर्नु हो।
असोज २८ गते मंगलबार बिहान ७ बजे हुने यो दौडमा खजुरा नगरपालिकाका स्कूलका छात्र-छात्रा र खुला समूहका चार विधामा प्रतिस्पर्धा हुनेछ। यो नेपालको सम्भवतः पहिलो ग्रीन अवधारणाको दौड हो। यसपटक करिब १०० जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले बताए। गत वर्ष ४२ जनाले सहभागिता जनाएका थिए।
यस दौडमा मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान पनि सहभागी हुनेछिन्। उनको अध्ययन र रुचि पर्यावरणसँग सम्बन्धित भएकाले ग्रीन रनसँग जोडिएको संस्थापक ठकुरीले बताए। सोमबार जोन र सृष्टिसँग जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाहरूको भेटघाट आयोजना गरिनेछ।
धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण मंसिर ६ गते शनिबार हुनेछ। यसका लागि दर्ता खुलिसकेको छ। यो संस्करणमा प्रदर्शनका आधारमा खेलाडी र अन्य व्यक्तित्वलाई अन्तर्राष्ट्रिय अवसर प्रदान गर्ने योजना छ।
यसका लागि थाइल्याण्डको बाङ्सेन रनिङ सिरिजसँग औपचारिक सम्झौता भएको छ भने अन्य म्याराथन आयोजकहरूसँग पनि सहकार्यको तयारी भइरहेको ठकुरीले बताए।