आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध जितका लागि नेपालले १९६ रनको लक्ष्य पाएको छ।
शनिबार दिउँसो त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले अमेरिकालाई ४३.३ ओभरमा अल आउट गर्दै १९५ रनमा रोकेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एक/एक विकेट लिए।
शुभम रन्जने र मोहम्मद मोशिन रन आउट भए।
अमेरिकाका लागि कप्तान तथा ओपनर स्मित पटेलले सर्वाधिक ८३ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का हाने।
शेहान जयसुरियाले ५३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरी ५० रन जोडे। मिलिन्ड कुमारले २८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ।
त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ।
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ।
साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ।
स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अंक जोडेको छ।