काठमाडौं जिल्ला क्रिकेट संघले आयोजना गरेको जिल्लास्तरीय यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सिलेन्स सेन्ट्रर (सिइसी) ले जितेको छ।
शनिबार मूलपानी मैदानमा भएको फाइनल खेलमा सिइसीले काठमाडौं क्रिकेट एकेडेमीलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सिइसीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६७ रनको बलियो लक्ष्य प्रस्तुत गर्यो। टोलीका लागि बुद्धिमान विष्टले ५६ रन र विरेन्द्र धानादीले ५५ रनको अर्धशतकीय पारी खेले।
१६८ रनको लक्ष्य पछ्याएको काठमाडौं क्रिकेट एकेडेमी मात्र १०.४ ओभरमा ३० रनमै अलआउट भयो। टोलीका सौर्यवीर चन्दले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सिइसीका धिरज देउवाले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै, प्रसिद्ध जैसी र सत्यम यादवले समान २–२ विकेट झारे।
यसअघि सेमिफाइनलमा काठमाडौं क्रिकेट एकेडेमीले महावीर क्लबलाई र सिइसीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए।
काठमाडौं जिल्ला क्रिकेट संघद्वारा आयोजित यस प्रतियोगिताका विजेता टोली र खेलाडीहरूलाई संघका अध्यक्ष दिवाकर घले लगायतले पुरस्कार वितरण गरेका थिए।
