एसियन गेम्स छनोटका लागि नेपाली टोलीमा नरहेका अलराउन्डरद्वय गुल्सन झा र इशान पाण्डे बेल्जियमको इयू टी-२० लिग खेल्न जाने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार गुल्सन र इशानले जेबी ब्रुजबाट खेल्ने भएका हुन्।
योबीचमा नेपालले सिंगापुरमा एसियन गेम्सको छनोट खेल्दैछ। एसियन गेम्स छनोट मे ३१ देखि जुन ९ सम्म हुनेछ भने इयू टी-२० जुन ६ बाट सुरु हुँदैछ।
यसअघि क्यानले एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा गरेको थियो।
गुल्सन र इशानले इयू टी-२० खेल्दा यसअघि यो लिगको टोलीमा रहेका आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र लोकेश बमले भने सुरुवाती खेल गुमाउने पक्का भएको छ।
इयू टी-२० कुन टोलीमा को नेपाली खेलाडी?
आन्थ्रोप एंकर्स - आसिफ शेख, लोकेश बम
ग्लेन्ट ग्लाडिएटर्स - रोहित पौडेल
एक्सेल युनाइटेड -
जेबी ब्रुज – दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे
लिएज रेड लायन्स – सन्दीप लामिछाने
नौ खेलाडी इयू टी-२० मा आबद्ध हुँदा सात खेलाडी एसियन गेम्स छनोट खेलेर जान सक्नेछन्।
छनोटमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसहित मलेसिया, कतार र चाइना छन्।
समूह बीमा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्।
प्रत्येक समूहका सेमिफाइनलमा पुग्ने चार टोली एसियन गेम्स जापानका लागि छनोट हुनेछन्।
सेमिफाइनल पुग्ने चार टोली जापानमा हुने एसियन गेम्समा छनोट हुनेछन्।
आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा पुग्न नेपालले समूह चरण पार गरेर एक खेल जित्न पर्नेछ। छनोट प्रतियोगिता ३१ मे देखि सिंगापुरमा हुनेछ।
चार टोलीले छनोट चरण पार गर्दा ६ टोली भने यसअघि नै पुगिसकेका छन्। जापान आयोजक बनेर छनोट हुँदा आइसिसी वरीयताको आधारमा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छनोट भएका हुन्। यसरी १० टोलीबीच एसियन गेम्समा प्रतिस्पर्धा हुनेछ।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम।