इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्।
आइपिएलको आधिकारिक वेबसाइटले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अक्सनका लागि १७ देशका कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्।
तीमध्ये १० जना नेपाली खेलाडी रहेको उल्लेख छ। उनीहरू को-को हुन् भन्ने चाहिँ खुलाइएको छैन।
दर्ता गर्नेमा ९३९ जना भारतीय र २८१ जना विदेशी खेलाडी छन्।
विदेशी खेलाडीको सूचीमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बाट समान १०–१० जनाले नाम दर्ता गराएका छन्। एसोसिएट राष्ट्रमध्ये अमेरिकाबाट सबैभन्दा धेरै १३ खेलाडीले नाम दर्ता गराएका छन्।
अक्सनमा नाम दर्ता गराउने विदेशी खेलाडीमध्ये अस्ट्रेलियाका सबैभन्दा धेरै ५३ जना छन्। दक्षिण अफ्रिकाका ४०, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५, अफगानिस्तानका २३, श्रीलंकाका २१ र इंग्ल्यान्डका १६ खेलाडी छन्।
त्यस्तै बंगलादेशका १२, आयरल्यान्ड र जिम्बाब्वेका समान सात, नेदरल्यान्ड्सका तीन तथा क्यानडा, जापान र स्कटल्यान्डका समान दुई खेलाडीले नाम दर्ता गराएका छन्।
अक्सनअघि विभिन्न टोलीले १८४ खेलाडीलाई टोलीमा राखिसकेका छन्। अब अक्सनबाट बढीमा ६६ खेलाडी छनोट हुनेछन्।
तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ।
अक्सनका लागि नाम दर्ता गराएका १ हजार २२० खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलिसकेका, ९९४ जना अन्तर्राष्ट्रिय खेल नखेलेका र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन्।
दर्ता भएका १० नेपाली खेलाडीमध्ये कति जना अक्सनको अन्तिम सूचीमा पर्छन् भन्ने टुंगो डिसेम्बर ४ मा लाग्नेछ।
आइपिएल २०२७ को मिनी अक्सन डिसेम्बर १६ मा भारतको गोवामा आयोजना हुँदैछ।